गैंडाकोट , ९ फागुन :
४ सय ७६ जनालाई हिड्ने बनाएर नवलपुरमा जारी निःशुल्क कृत्रिम खुट्टा जडान शिविर सम्पन्न भएको छ ।
चौधरी फाउण्डेसन, भारतिय दुतावास, श्री भगवान महाविर विकलाङ्ग सहायता समिति जयपुर र सहज सामुदायिक अस्पतालको आयोजनामा सो शिविर संचनलन गरीको थियो ।
सहज सामुदायिक अस्पतालबाट मात्रै ४१८ जना र काठमाडौंबाट ५८ जना गरि ४ सय ७६ जनाले कृत्रिम हात खुट्टा जडान गरेका हुन् ।
शिविरको बिहिबार सहज सामुदायिक अस्पताल गैंडाकोट ४ मा समापन गरिएको छ । समापन समारोहमा सहज सामुदायिक अस्पतालका पुर्व अध्यक्ष करुणासागर सुवेदीले ५२ जनालाई हात, ३७१ जनालाई खुट्टा, ६४ जनालाई दुवैखुट्टा, १३ जनालाई क्यालिपर, ८ जनालाई दुवै क्यालिपर गरि ४ सय ७६ जनालाई ५ सय ८ वटा सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा चौधरी उद्योग ग्रामका प्रवन्धक सनिल नेपालले ६२ जिल्लाका ३ सय ५९ जना पुरुष र ११७ जना महिलालाई सो सेवा उपलव्ध गराईएको बताउनुभयो । उहाँले सोचे अनुरुप शिविर सफलतापुर्वक सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले कृत्रिम हात खुट्टा जडानका लागि एक सेन्टर आवश्यक रहेकोमा जोड दिनुभयो । नगरपालिकाले पनि यसअघि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै उहाँले सहज सामुदायिक अस्पताललाई सेन्टर बनाउने कार्य भईरहेकोमा सो कार्यलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले निजि क्षेत्रबाट सामाजिक उत्तरदायित्वका यस कार्यबाट व्यक्तिले लाभ लिनु खुसीको कुरा भएको बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले मानविय सहयोग जस्तो महान कार्य गैंडाकोट ४ मा हुनु खुसीको कुरा भएको बताउनुभयो ।
चौधरी उद्योग ग्रामका सामाजिक उत्तरदायित्व सि एस आर रामचन्द्र धितालले कृत्रिम हात खुट्टा जडानका लागि अझै माग रहेकाले आगामी दिनमा यस कार्यलाई निरन्तर अघि बढाउने बताउनुभयो । पुस २७ देखि ३० गते सम्म काठमाडौंको नर्भिक अस्पताल र गत माघ ३ गतेदेखी ८ गतेसम्म सहज सामुदायिक अस्पताल गैंडाकोटमा शिविर सञ्चालन भएको थियो ।
शिविरमा ६२ जिल्ला मध्ये सवैभन्दा बढि नवलपरासीबाट ९८ जना, चितवनबाट ७९, रुपन्देहीबाट २९, तनहुँबाट २५ र मकवानपुरबाट २३ जनाले कृत्रिम हातखुट्टा जडान गरेका छन् । नेपालमा करिब एक लाख मानिसका लागि कृत्रिम हात खुट्टा आवश्यकता पर्ने सरकारी डाटा रहेको जनाईएको छ । नेपालमा अझै कृत्रिम हात खुट्टाको माग रहेकाले सहज अस्पतालमा एक सेन्टर स्थापना गर्ने तयारी भईरहेको सो अवसरमा जनाईएको छ ।
सहज सामुदायिक अस्पतालका उपाध्यक्ष डिल्लीप्रसाद सिग्देलको अध्यक्षता भएको समापन समारोह लक्ष्मी भट्टराईले सहजिकरण गर्नुभएको थियो ।