चितवन २० बैशाख । सत्ता साझेदार गठबन्धन दलहरुले भरतपुर महानगरपालिकाको आगामी कार्यकालको लागि सयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । गठबन्धन, भरतपुर महानगरपालिका समितिको नामबाट मंगलबार भरतपुरमा एक विशेष कार्यक्रम गरि उक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको उक्त प्रतिवद्धतापत्रमा गठबन्धनको आवश्यकता र औचित्य, वितेको पाँच वर्षमा भरतपुर महानगरले गरेका कामको अभिलेखिकरण र आगामी कार्ययोजनाबारेमा प्रष्ट पारिएको छ । बितेको पाँच वर्षका उपलब्धी र आगामी कर्याकालको मूलबाटो बारेमा केन्द्रीय उक्त प्रतिवद्धता पत्रमा राजनीति र विकास लाई समेटिएको छ । रानीतिक र नीतिगत संकल्पसहितको उक्त प्रतिवद्धतापत्रमा राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारीको आधारलाई समेटेर अगाडिको लक्ष निर्धारण गर्ने, पक्ष–प्रतिपक्षको व्यवहार नहुने विकास र समृद्धिमा सबैसंग हातेमालो गरिने उल्लेख छ ।
प्रतिवद्धतापत्रमा लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि आवधिक निर्वाचनको महत्वको बारेमा उल्लेख छ । निर्वाचनलाई महोत्सवको रुपमा मनाउन आम महानगरवासीमा अनुरोध गरिएको छ ।
प्रतिवद्धतापत्रमा महानगरले वितेको पाँच वर्षमा सडक स्तर उन्नती गरेको विषय उल्लेख छन् । पाँच वर्षका अवधिमा ६२२ किलोमिटर कालोपत्रे, महानगरीय चक्रपथ, लिंक रोड, वाइपास रोडको स्तर उन्नती, नारायणगढ गोन्द्राङ व्यूटिफिकेशन सहित छ लेन सडक निर्माण, भरतपुर मेघौली, चौविसकोठी गीतानगर जगतपुर सडकको स्तर उन्नतीको बारेमा उल्लेख छ ।
त्यस्तै गरि नारायणी तटबन्धनको लागि बजेट व्यवस्था, सिटीहल, लायन्सचोकमा बहुउद्धेश्यीय व्यवसायिक भवन निर्माणको थालनी, देवघाटमा आधुनिक दाहसंस्कार स्थल निर्माण, स्मार्ट सडक बत्ती परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, प्रस्तावित भरतपुर विमानस्थल विस्तार, कोरिया सरकारको सहकार्यमा फोहर व्यवस्थापन, पर्यटकीय सम्भावना क्षेत्रको खोजी, नारायणी नदी किनारलाई समुन्द्री किनार जस्तै विकास गर्नेलगायतका विभिन्न परियोजनाको विषयलाई जोडेर केही काम सम्पन्न हुने अवस्थामा रहेका केही शुरु भएका र केही शुुरु हुने तयारीमा रहेको उल्लेख गरिएको छ ।
प्रतिवद्धतामा महिलासँग जोडिएका विषयहरुलाई जरै देखि उठान गरिएको छ र नारामै महिला संग जोडिएको हाम्रो वाचा , सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी भनेर उल्लेख गरिएको छ । महानगरले भूमिहीनहरुको पक्षमा गर्दै आएका काम र हाल सम्मको उपलब्धीका बारेमा उल्लेख गरिएको उक्त प्रतिवद्धतापत्रमा भूमिहीनसँग हाम्रो संकल्प , हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर भन्ने नारानै बनाइएको छ ।