भरतपुर । त्रिचालिस वर्षे राजनीतिक यात्रामा पहिलोपटक जनप्रतिनिधिका लागि उमेदवार बन्नु भएका नेकपा एमालेका नेता भक्तीप्रसाद गौतम अनुभवी पुराना समाजसेवी हुन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गौतमलाई एमालेले सोही वडाको अध्यक्ष पदमा उमेदवार बनाएर चुनावी प्रतिष्पर्धाका लागि मैदानमा उतारेको छ ।
एमालेको राम्रो जनाधार भएको वडा नं. १० महानगरकै मुटुको रुपमा रहेको छ । यही वडामा महानगरपालिकाको मुख्य कार्यालय, जिल्लाका सरकारी कार्यालय, ठुला अस्पताल, शैक्षिक सस्था, सुरक्षा निकायका कार्यालय, संघ सस्थाका कार्यालय, आवास क्षेत्र हुदै अहिले बजार समेत यही क्षेत्रमा विस्तार भएको छ ।
वि.सं. २०२० साउन १ गते ताप्लेजुङ जिल्लाको फूलावारीमा जन्मनु भएका गौतम २०३५ सालमा दुर्गा माध्यमिक विद्यालयमा प्राक सचिवबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । राजनीतिमा सक्रिय हुदै २०३६ सालमा क्षेत्रीय कमिटी सदस्य भए जिम्मेवारी पूरा गरेपछि क्षेत्र नं. २ को इन्चार्ज भएर काम गर्नु भयो । त्यसपछि उहाँ अनेरास्ववियूलाई उचाइमा लैजान भूमिका निर्वाह गर्नु भयो । विद्यार्थी आन्दोलनमा सक्रिय गौतम २०४३ सालमा ताप्लेजुङबाट वसाइसराइ गरेर चितवन आउनु भयो ।
पञ्चायत विरोधी आन्दोलनमा उहाँले पार्टीको निर्देशमा काम गर्नुभयो । जीवन निर्वाह गर्ने क्रममा उहाँ २०४४ सालमा तनहुको आवुखैरहनी सत्रसयफाटमा शिक्षण पेशामा आवद्ध भएर काम गर्नुभयो । पञ्चायती विरुद्ध वहुदलको पक्षमा उहाँको गतिविधि त्यहाँपनि गौतमको रोकिएन । निरंकुश शासन लडाउन सक्रिय भूमिका खेलेको भन्दै राज्यले उहाँलाई २०४५ सालमा थुनामा राख्यो । २ महिना जेल जीवन विताएपछि जागिरे जीवनबाट हात धोएर चितवन आउनुभयो ।
२०४९ सालमा साविक भरतपुर वडा नम्वर ३ मा नेकपा एमालेको वडा कमिटी सदस्य भएर काम गर्न थाल्नुभयो । २०५४ सालमा भरतपुर नगर कमिटी सदस्य भएपछि लगातार १४ वर्ष उहा नगरकमिटीमा रहेर काम गर्नुभयो । उहाले २०६७ मा नगर कमिटी सचिव, नेकपा एमालेको वुटवलमा सम्पन्न आठौं महाधिवेशनपछि भरतपुर नगर कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रालाई अगाडि बढाउनु भयो ।
त्यसपछि उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य, नगर कमिटी इन्चार्ज, जिल्लाको आठौ अधिवेशनपछि पुन नगर कमिटी इन्चार्ज, निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको थियो । वर्तमान जिल्ला कमिटी सदस्य स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।
पार्टीका अलवा उहाँ किराना व्यवसायी संघको महासचिव, पूर्वेली समाजको महासचिव रेडक्रस सोसाइटी भरतपुरको उपसचिव, विशिष्ट सदस्य भएर काम गर्नुभएको छ । २०६६ देखि २०७२ सम्म भरतपुर नगरपालिकाको राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा रहेर नगरको विकास निर्माणमा भूमिका खेल्नु भएका गौतमले वडा अध्यक्ष निर्वाचित भएमा जनताको सेवकको रुपमा आफ्नो समय खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
मित्रवत व्यवहार राखेर कार्यालयमा मुस्कान सहितको जनताको सेवामा आफ्नो कार्यकाल पूरा गर्ने उहाले बताउनु भएको छ । वृद्धवृद्धालाई सम्मान, युवालाई अवसर बालबालिकालाई शिक्षा, स्वास्थ्य, विकास, हरियाली स्मार्ट वडा बनाउन आफूनो भूमिका रहने उहाँको प्रतिवद्धता रहेको छ ।