काठमाडाैँ । पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकमा पदोन्नति भएका ३९ प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना हुनुहुन्छ । बढुवा भएका एक जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा कार्यरत रहेकाले उहाँ आएपछि दज्यानी चिह्न प्रदान गरिने जनाइएको छ ।
प्रहरी महानिरीक्षक खनालले सङ्गठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकतासहित चुस्तरुपमा सेवा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । राष्ट्रको सार्वभौमतामाथि असर गर्ने क्रियाकलाप तथा गैरकानूनी गतिविधिविरुद्ध कानूनी कारवाहीमा दृढतापूर्वक लाग्न निर्देशन दिँदै उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्रोतसाधन परिचालनमा सहजता बताउनुभयो ।
पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिले आफूहरुमा थप ऊर्जा मिलेको भन्दै सामूहिकरुपमा मन, वचन र कर्मले सङ्गठन र नागरिकप्रतिको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।