भरतपुर-२ का अध्यक्ष उमेदवार कृष्ण केसीको प्रतिवद्दता : ” आफ्नो-अर्को नभनीकन वडावासीको सेवा गर्नेछु “

चितवन समाचार डटकम, १४ बैशाख । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्षका उमेदवार कृष्ण केसीले पदमा वहाल रहदा निश्पक्ष र निस्वार्थ ढंगले वडाकाे बिकासमा खटिने भन्दै मतदानका लागि वडावासिलाई आह्वान गर्नुभएको छ । उमेदवार केसीले जारी गर्नुभएको अपिल जस्ताकाे तस्तै :
आउँदो स्थानीय निर्वाचनमा भरतपुर महानगर वडा नं २को वडा अध्यक्ष पदका लागि नेकपा एमालेका तर्फबाट उमेदवादी दिएको छु। वडा नं २ का सम्पूर्ण वडावासी तथा मतदाताको सहयोग, सद्भाव र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु।
स्थानीय स्तरमा लामो समयदेखिको राजनीतिक क्रियाशीलताको मेरो एउटै उद्देश्य समाज सेवा र भ्रष्टाचार-मुक्त स्थानीय विकास हो। स्थानीय निकाय अहिले स्रोत र अधिकारका हिसाबले शक्तिशाली छ। तर यस्तो स्रोत र शक्तिको प्रयोग निर्वाचित जनप्रतिनिधिले जनता माथि शासन गर्नमा हैन, सुशासन र उत्कृष्ट सेवा दिनका लागि हुनुपर्छ भन्ने मान्यता प्रति मेरो प्रतिबद्धता अटल रहने छ। निर्वाचित जनप्रतिनिधिले वडाका सबै भाग र जनताका आवश्यकता र प्राथमिकतालाई ‘आफ्नो-अर्को’ नभनीकन समान र पारदर्शी रूपले सम्बोधन गर्नु पर्छ भन्ने कुरा व्यवहारमा उतार्ने मेरो प्रतिज्ञा छ। विकास-निर्माणमा मापदण्ड र गुणस्तरको पूर्ण पालना र वडाको काम कारबाहीमा अनियमितता.तथा भ्रष्टाचार निर्मूल गर्ने मेरो विशेष प्राथमिकता हुने छ।
भविष्यमा यो वडाको भौतिक विकासको स्वरूप र संरचना कस्तो बनाउने भन्ने सोच सहित सडक, पुल-कल्भर्ट, स्वास्थ्य, शिक्षा, खेलमैदान, आवास, मठ-मन्दिर, वातावरण लगायतका क्षेत्र समेटेर योजनाबद्ध विकासको खाका बनाउनु पर्ने आवश्यकता छ। साथै विकासका तत्कालका आवश्यकता सम्बोधन गर्नुका साथै जनतालाई वडाबाट दिईने सेवालाई सहज र सुविधाजनक बनाउनु पर्ने अनिवार्यता पनि छ। २ नं वडामा बर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्वासी नागरिकलाई जग्गा स्वामित्वको लालपुर्जा दिन छिटो भन्दा छिटो यो प्रक्रिया टुङ्ग्याउनमा मेरो प्राथमिकता रहनेछ।
भविष्यको योजनासँग तालमेल हुने गरी तत्कालका कार्यक्रम र आयोजना सञ्चालन गर्न सकियो भने मात्र उपलब्ध स्रोत-साधनको सही उपयोग हुनेछ। यसका लागि भरतपुर महानगरको नयाँ निर्वाचित नेतृत्वसँगको समन्वय र सम्पूर्ण वडावासीको सहभागितामा वडाको विकासको खाका र योजना तयार गरी कार्यान्वयन गर्नेछु।
मेरो उमेदवारिलाई वडा बासी आम जनताको विकास, सुशासन र सेवा प्रतिको चाहना र भावनाको प्रतिनिधित्व गर्ने जिम्मेवारीको रूपमा लिएको छु। निर्वाचनमा नेकपा एमालेको सम्पूर्ण टिमको विजयको लागि यहाँहरूको अमूल्य मत का लागि पुनः अनुरोध गर्दछु। साथै निर्वाचनमा विजय पछि यहाँहरूको निरन्तरको सल्लाह, सुझाव र निर्देशनको अपेक्षा गर्दछु।

शेयर गरौ

ताजा अपडेट