चितवनको सातै पालिकामा मनोनयन दर्ता

 

चितवन, १२ वैशाख । स्थानीय तह निर्वाचनका लागि चितवनको सातै पालिकामा प्रमुख राजनीतिक दलका नेताहरुले उमेदवारी दर्ता गराएका छन् ।
चितवनको पाँच वटा नगरपालिका र एउटा गाउपालिकामा सत्ताधारी गठवन्धन, प्रतिपक्ष दल एमाले, राप्रपा अन्य दलहरु र स्वतन्त्रले पालिकाको प्रमुख पद सहित अन्य पदहरुमा मनोनयन दर्ता गराएका हुन् ।
रत्ननगर नगरपालिका
जिल्लाको रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवाडी र पाठकले उम्मेदवारी दर्ता गर्नु भएको हो ।
नेकपा एमाले अनेमसंघ रत्ननगर नगर कमिटी अध्यक्ष वीरञ्जना घिमिरे सापकोटाले रत्ननगर नगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गर्नु भएको छ । उहाले रत्ननगर वडा नं १३ मा वडाध्यक्षको टिकट नपाएपछि उपमेयरमा उमेदवारी दर्ता गर्नु भएको हो ।
त्यस्तै गठवन्धनबाट नेपाली काँग्रेस तर्फबाट मेयरमा प्रल्लाख सापकोटा, उपमेयरमा एकीकृत समाजवादीबाट वद्री घिमिरेले उमेदवारी दर्ता गराउनु भएको छ ।
राप्ती नगरपालिका
राप्ती नगरपालिकामा सत्ता गठवन्धनबाट एकीकृत समाजवादी पार्टीबाट मेयरमा शम्शेर लामा, उपमेयरमा काँग्रेसबाट देवेन्द्र लामाले दर्ता गराउनु भएको छ । नेकपा एमालेको तर्फबाट मेयरमा गोविन्द कडेल, उपमेयरमा मेनुका पाठकले उमेदवारी दर्ता गराउनु भएको छ ।
माडी नगरपालिका
माडी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादीका ऋषिराम काफ्ले र उपमेयरमा कांग्रेसबाट खेम महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेबाट मेयरको उम्मेदवार महतो माडी नगरपालिकाकी निवर्तमान उपमेयर हुन् भने कांग्रेसका महतो गत स्थानीय निर्वाचनमा मेयरबाट ४७ भोटले पराजित उम्मेदवार हुन् ।
खैरहनी नगरपालिका
एमालेबाट नगर प्रमुखमा लालमणी चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराउनु भएको छ । चौधरी खैरहनीको संस्थापक नगरप्रमुख हुनुहुन्छ । गठबन्धनबाट प्रमुखमा काग्रेसका शशीकुमार खनियाँ र उपप्रमुखमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले दर्ता गराउनु भएको छ ।
कालिका नगरपालिका
कालिका नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामाले उम्मेदवारी मनोनयद दर्ता गराउनु भएको छ । सत्ता गठवन्धनबाट मेयरमा शिवराम केसी र उपमेयरमा माओवादी केन्द्रबाट कविता लामाले उमेदवारी दर्ता गराउनु भएको छ ।
इच्छाकामना
जिल्लाको एकमात्र गाउपालिका इच्छाकामनामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित सातै वडाको वडाध्यक्ष र सदस्यको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार माया सिलवाल उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनले अध्यक्षमा नेपाली काँग्रेसबाट गीता कुमारी गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रबाट प्रताप गुरुङले दर्ता गराउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट