चितवन, ११ वैशाख । भरतपुर महानगरपालिकामा छ वटा साना राजनीतिक दलसहित स्वतन्त्रबाट ११ जनाले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले ११ र १२ गते दुइदिन मनोनयन दर्ता गर्न पाउने व्यवस्था भए अनुसार दलहरुले मनोनयन गरेका हुन् । सत्ताधारी गठवन्धन र प्रतिपक्ष नेकपा एमालेले भने आइतबार मनोनयन दर्ता गरेको छैन । आइतबार भरतपुरको मेयर पदमा मनोनयन गर्ने दलहरुमा नेकपा माले, मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी , उन्नत लोकतन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
काँग्रेसबाट युवा र माओवादी केन्द्र समर्थित गरी चारजनाले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । त्यस्तै गरी उपमेयरमा भने तीन जनाको मात्र उमेदवारी परेको छ ।
यस्तै गरी जिल्लाको राप्ती नगरपालिका मेयरमा २ र उपमेयरमा २ जनाको मनोनयन दर्ता भएको छ । रत्ननगर नगरपालिका मेयर पदमा तीन जनाले मनोनयन दर्ता गरेका छन् । मजदुर किसान पार्टीका पुनाराम शर्मा, जनता समाजवादी पार्टीका यदुकृष्ण भट्ट र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका धनबहादुर थिङले मेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विनोदकुमार गौतमले जानकारी दिनुभयो । त्यसैगरी उपमेयरमा दुई जनाले उम्मेदवारी दिएका छन् । जनता समाजबादी पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले उम्मेदवारी दर्ता गराएको हो ।
माडी नगरपालिकामा नागरिक पार्टीले मेयर र उपमेयरमा, कालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउपालिकामा प्रमुख पदमा उमेदवारी दर्ता भएको छैन ।