चितवन, ११ वैशाख । नेकपा एमाले चितवनले जिल्लाका सातवटै पालिकाको उमेदवार टुंगो लगाएको छ ।
भरतपुर महानगरपालिकाको प्रमुख र इच्छाकामना गाउपालिकाको प्रमुख यस अगाडिनै निर्णय गरिसकेको एमालेले पाँच पालिकाको भने आइतबार टुंगो लगाएको हो ।
भरतपुर महानगरपालिकामा विजय सुवेदीलाई मेयर पदमा उठाउने निर्णय पार्टीको सचिवालय वैठकले गरिसकेको छ । उप मेयरमा भने राप्रपासंग तालमेल गर्ने भएकाले उपमेयर पद खाली राखेको छ । जिल्लाको वस्तुस्थितिलाई हेरेर राप्रपा संग चुनावी तालमेल गर्ने अन्तिम तयारी रहेको एमाले पोलिटव्युरो सदस्य एवम जिल्ला इन्चार्ज देवी ज्ञवालीले जानकारी दिनुभयो ।
भरतपुर र माडी नगरपालिकाको उपमेयर राप्रपालाई दिने तयारी भएको छ उहाले भन्नुभयो हामी केही समयमा हस्ताक्षर गर्ने छौ । भरतपुर र माडी क्षेत्रमा राप्रपाको राम्रो पकड मानिएको छ । राप्रपाले भरतपुर महानगरपालिका क्षेत्रमा १० हजार मत रहेको दावी गरेको छ ।
एमालेले जिल्लाको राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेती, रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक तथा कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा उम्मेदवार भएका छन् । खैरनीमा भने लालमणि चौधरी यस अगाडि पनि मेयर रहनु भएको थियो ।
रत्ननगरको मेयरको उम्मेदवार बन्नु भएको दुवाडी अहिले नगरपालिकाको उपमेयर हुनुहन्छ । यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन हुनु भएको छ । महतो यसअघि माडी नगरपालिकाको उपमेयर हुनुहुन्छ । एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदी र इच्छाकामना गाउँपालिको अध्यक्षमा दानबहादुर गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाइसकेको छ ।
एमालेले इच्छाकामना गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार माया सिलवाललाई बनाएको छ ।
