केशव पौडेल
चितवन समाचार डटकम, ७ बैशाख । नेकपा एमालेका नेता तथा भरतपुर महानगरका मेयर पदका उमेदवार विजय सुवेदीले जनचाहना अनुसारनै आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी चितवनले वुधबार भरतपुरमा आयोजना गरेको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा उहाले महानगरलाई आर्थिक रुपमा सवल बनाउने आफ्नो मुल उद्देश्य रहेको बताउनुभयो । महानगरवासीले दिएको सुझावलाई प्राथमिकता दिएर आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मानवजातीको सेवा, सुशासन, आर्थिक संवृद्धि, वेरोजगारी समाधानको पक्षनै मुल एजेण्डा रहेको बताउनु भयो । उहाले आफू निर्वाचित भएपछि सवैको साझा मेयरका रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘पार्टीबाट पदमा पुग्ने, पदमा पुगेपछि पार्टी प्रतिको मोह छाड्ने र पद सकिएपछि पार्टीकै काममा फर्कने ’ उहाले भन्नुभयो ‘रुपचन्द्र विष्टको भनाइबाट म प्रभावित भएको छु ।’
कार्यक्रममा वेरोजगार समस्या समाधान गरी आर्थिक विकास सवल गर्न सुझाब दिएका हुन् । कृषि विश्वविद्यालय रामपुरका प्राध्यापक डाक्टर इश्वरी कडरियाले महानगरको आम्दानीको स्रोत प्रष्ट नभएसम्म विकासका काम नारामा मात्र सिमित हुने बताउनु भयो ।
‘कृषिलाई आर्थिक मेरुदण्ड लिएपनि आम्दानी वृद्धि गर्न सकिएको छैन’ उहाले भन्नुभयो ‘ कृषि उत्पादन र किसानको आय दोब्बर बनाउनु पर्छ ।’ जनताको आय वृद्धि नगरेसम्म अन्य क्षेत्रको विकासले अर्थ राख्दैन उहाले भन्नुभयो । महानगरलले करको निर्धारण गर्न सक्नु पर्ने, उद्योगको लागि कच्चा सामग्री स्वदेशमा नै उत्पादन हुनुपर्ने, स्वास्थ्य, शिक्षा, व्यापारको क्षेत्र निर्धारण गरिनु पर्ने सुझाव दिनुभयो ।
चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले सरकारले दिएको स्वास्थ्य विमा व्यवस्थित सञ्चालन हुन नसक्दा जनताले हैरानी पाएको बताउनु भयो । स्वास्थ्य विमालाई सहज सञ्चालनको लागि महानगरपालिको प्रष्ट योजना आवश्यक रहेको सुझाव दिनुभयोे । विमाको रकम अस्पतालले लामो समयसम्म नपाउने, उपचारमा झन्झट हुने जस्ता समस्याले विमा कार्यक्रमनै असफल हुने अवस्थामा पुगेको बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आयात प्रतिस्थापन गरी निर्यात गर्न सकिने योजना ल्याउनु सुझाव दिनुभयो । देशको राजधानीदेखि मुख्य सहर एकसय ५० किलोमिटर परको दुरीमा रहेको भरतपुर महानगर आर्थिक केन्द्र बन्न अझै नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उत्पादनलाई वृद्धि गरेर आय आर्जनका बाटाहरु पहिल्याउने कार्यक्रम अबको नेतृत्वले गर्नु पर्ने सुझाव दिनुभयो ।
चितवन जिल्ला अदालत नेपाल वार एसोसियसनका पूर्व अध्यक्ष अधिवक्ता राजकुमार श्रेष्ठले स्थानीय पालिकाले विज्ञको सल्लाहमा कानुन निर्माण गर्नु पर्ने बताउनुभयो । संघ, प्रदेश सरकारका कानुनसंग नबाजिने गरी कानुन निर्माण गरेर जनतालाई सहज न्याय सम्पादन गर्नु पर्ने सुझाव दिनुभयो ।
पर्यटन विज्ञ डाक्टर विश्व सुवेदीले महानरपालिकाले पर्यटनको क्षेत्रमा लगानी गर्ने नारा लगाएपनि प्रभावकारी रुपमा लगानी नभएको बताउनुभयो । आर्थिक पक्ष मजवुद बनाउनपनि पर्यटन क्षेत्रको विकास, पूर्वाधार निर्माण, सहज सूचना, यातायात सुरक्षाको वातावरण निर्माण गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी , प्राध्यापक कपिलदेव सुवेदी, स्वास्थ्यकर्मी, लिलाधर पौडेल, कानुन व्यवसारी कृष्ण पन्तलगायतले महानगरवासीको चाहना अनुसार काम गर्न सुझाव दिनुभयो । कार्यक्रम प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य र सचिव मुकुन्द भुसालले सञ्चालन गर्नु भएको थियो ।


