चितवन, २७ चैत । चितवनको कालिका नगरपालिकाले घर नभएका चेपाङ परिवारलाई आवास निर्माण गरेपछि उनीहरुमा खुसीयाली छाएको छ ।
गरिब विपन्न चेपाङ समुदायमा घर नहुदा असुरक्षित वसोबास गर्दै आएका थिए । घर बनेपछि उनीहरुमा खुसीयाली छाएको हो ।
गरिव विपन्न समुदायका चेपाङलाई मेयर आवास कार्यक्रम मार्फत घर निर्माण गरिएको छ । कालिका नगरपालिका पहाड र समथर भुवनोट रहेको पालिका हो । यस पालिकाको वडा शक्तिखोर, सिद्धीलगायतमा चेपाङ समुदायको वस्ती बाक्लो रहेको छ ।
यहाँका अधिकाँस चेपाङ समुदाय गरिबी रहेको पालिकाले जनाएको छ । गरिबीको कारण आवास सुरक्षित नभएको र आवास नै नभएका परिवारलाई पहिचान गरेर घर निर्माण गरेको कालिका नगरपालिका प्रमुख खु्मनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीले घर नभएका चेपाङ समुदाय सवैलाई आवास निर्माण गर्ने लक्ष्य थियो तर त्यो यस पटक सम्भव भएन’ उहाले भन्नुभयो ‘आउदा दिनमा निर्माण गर्दै लैजाने छौ ।’ बजेटको अभाव नभएपनि निर्माणका क्रममा आइपर्ने झन्झट र प्रकृया पूरा गर्न नसकेको कारण बाँकी घर बनाउन नसकिएको मेयर श्रेष्ठले जानकारी दिनुभयो । सुकुम्वासीका रुपमा बसोवास गर्दै आएका सिमान्तकृत परिवारलाई सुरक्षा दिनको लागि मेयर आवास कार्यक्रम ल्याएको उहाले बताउनु भयो ।
नगरपालिकाले ४० वटा घर निर्माण गर्ने भनेपनि अहिले २१ वटा मात्र निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी प्रकास पौडेलले जानकारी दिनुभयो । पालिका र जनसहभागिता गरेर घरहरु निर्माण गरिएको उहाले बताउनुभयो । २१ वटा घर निर्माणमा पालिकाले एक करोड १७ लाख भन्दा धेरै खर्च गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार एउटा घर निर्माणका लागि ५ लाख ६० हजार रुपियाँ खर्च गरेको छ । त्यसमा पालिकाले प्रति घर ४ लाख ८० हजार र बाँकी जनसहभागिताबाट रकम उठाइएको छ ।
पालिकाको सम्पूर्ण खर्चमा घर निर्माण गर्न सकिएपनि जनहसभागिता नगराउदा अपनत्वको भावना नहुने भएकाले थोरै रकम सहभागिता गराएको पालिका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । निर्माण पूरा भएका एक घरमा एक परिवारका दरले चेपाङ समुदाय बसोवास गर्दै आएको उहाले बताउनुभयो । दुइ वर्ष अगाडिबाट निर्माण कार्य थालनी गरेको आवास कार्यक्रम अहिले सम्पन्न भएर परिवार बसेका छन् ।
कालिका नगरपालिका भित्र कम्तीमा ९ हजार चेपाङ समुदाय रहेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य लक्षण चेपाङले जानकारी दिनुभयो । पालिकाको शक्तिखोर, सिद्धी र पदमपुर क्षेत्रमा चेपाङको बाक्लो वस्ती रहेको छ । चेपाङ समुदाय मध्य २० प्रतिशतको सुरक्षित आवास छैन चेपाङ संघका केन्द्रीय सदस्य लक्षण चेपाङले भन्नुभयो सुरक्षित अवास निर्माण गर्नु पर्ने दायित्व सरकारको हो । संघ, प्रदेश र स्थानीय सरकारले चेपाङ संघसंग समन्वय गरेर कार्यक्रम गरेमा अझ सफलता पाउन सकिने बताउनुभयो । पालिकाले गरेको आवास कार्यक्रम भने उत्कृष्ठ भएको उहाले बताउनुभयो ।