चितवन, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपु्र केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न आफ्नो पहल हुने बताउनु भएको छ ।
भरतपुर अस्पतालको ५९ औ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्वोधन गर्दै उहाले उपचारमा हुने सवै सेवा प्राप्त गर्ने गरी अस्पतालको विकास गरिने जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले डडेलधुरामा शिक्षण अस्पताल बनाउने तयारी गर्नु भएको मैले भर्खरै जानकारी पाएको छु अब पालो भरतपुर अस्पतालको हो’ प्रचण्डले भन्नुभयो ‘मैले भनेपछि शेरवहादुरजीले नमान्ने कुरा हुदैन अब भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन हुने छ । ’
‘जिल्लाबाट केन्द्रीय अस्पताल बनाउनको लागि मैले नै पहल गरेको थिए अब चिकित्साशास्त्र अध्ययन गर्ने सस्थाको रुपमा विकास गर्न मैलेनै पहल गर्नेछु’ उहाले भन्नुभयो । उपचार गर्न आउने विरामीको चाप र यहाँको आवश्यकताले शिक्षण अस्पताल आवश्यक छ उहाले भन्नुभयो ‘मुटुरोग, प्रशुतीगृह सहित अन्य आवश्यक सुविधा पाउने गरी अस्पतालको विकास गरिने छ । ’
कार्यक्रममा वागमती प्रदेश सांसद तथा अस्पताल विकास समितिका पूर्व अध्यक्ष विजय सुवेदीले केन्द्रीय अस्पताल भएपनि पाउनु पर्ने सेवा लिन ज्यादै कठिन हुने गरेको बताउनु भयो । राज्यले केन्द्रीय अस्पताल घोषणा त गरेको छ तर यस सस्थाले पाउनु पर्ने सुविधा लिन डाक्टर विकास समितिका अध्यक्षले रोइकराइ गरेर मन्त्रालय धाउनु पर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको थप विकासमा महानगरपालिकाले आउदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले चितवनसहित २० जिल्ला भन्दा धेरै स्थानबाट यहाँ उपचार गर्न आउने विरामीलाई सेवा दिन भइराखेको जनशक्तिले नसकेको बताउनु भयो । विमा कार्यक्रमको व्यवस्थापन पक्षलाई परिवर्तन गरेमा मात्र सेवा दिन सहज हुने उहाँको भनाइ छ । अहिले भइराखेको जनशक्तिले आउने विरामी सवैलाई सहज रुपले सेवा दिन नसक्दा आलोचित हुनु परेको बताउनु भयो ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपानले मन्तव्य राख्नु भएको थियो ।


