चितवन, चैत २४ ।
भरतपुर महानगरपालिका वडा नम्बर-२ मा नेकपा एमालेले आसन्न स्थानीय तहकाे निर्वाचनमा वडाअध्यक्षपदमा लाेकप्रिय उम्मेदवार कृष्ण केसीलाई अघि सार्ने भएको छ ।
एमाले वडा नम्बर २ को कमिटीले केसीलाई अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन गरेको हो ।
एमाले वडा कमिटीका अध्यक्ष लक्ष्मण सुवेदीले केसीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाइएको भन्दै आगामी निर्वाचनमा अध्यधिक मतका निर्वाचित हुने दाबी गरे ।
विसं २०३६ सालमा विद्यार्थी जीवनदेखि राजनीति सुरु गरेका केसी पछि नेपाली सेनामा जागिरको लागि प्रवेश गरेका थिए । सेनाबाट सुवेदार पदमा सेवा निवृत्त भएपछि केसीले २०६१ सालदेखि भरतपुर महानगरपालिका–२ वडामा राजनीति र समाजसेवामा सक्रिय रहँदै आएका छन् ।
केसी वडावासीमाझ लाेकप्रिय मानिन्छन् ।
५७ वर्षीय केसी नारायणगढ क्षेत्रपुरका स्थायी बासिन्दा हुन् । दुई पटक वडा कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै अहिले वडाको इन्चार्जको रुपमा केसीले एमालेमा काम गर्दै आएका छन् । गत स्थानीय निर्वाचनमा एमालेले यसवडामा पाचैवटा सिट जितेको थियाे ।