पाँच दलीय गठबन्धन स्वार्थको साँठगाँठले बनेको : अध्यक्ष ओली

काठमाडौं २३ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन स्वार्थको साँठगाँठले बनेको बताएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने आरोप लगाए । उनले भने, ‘पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थका लागि सम्पूणर् चिज प्रयोग गर्छन् । मैले सरकारको नेतृत्व गर्दा प्रचण्ड, माधव नेपाल र झलनाथले आफ्नो स्वार्थ मात्रै हेरे । कसरी चलाएँ हुँला सरकार भन्नुस् त ।’

उनले भने, ‘चोभारमा सुखा बन्दरगाह बनाउन लाग्दा कांग्रेसले डिष्ट्रव गरेर शिलान्यास गर्न नै दिएन । बडो मुस्किलले शिलान्यास गर्न परेको थियो । बलजफ्ती शिलान्यास गरें । प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले हिजो उद्घाटन गर्नुभयो । यति बेला आएर कुरा बुझ्नुभयो । अर्थात् पाँच दलीयले कुरा ढिलो बुझ्छ । हाम्रा मित्रहरु शिलान्यास गर्ने बेला कुरो बुझ्दैनन् । उद्घाटन गर्ने बेला कुरा बुझ्छन् र बत्ती बाल्न जान्छन् ।’

उनले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने देश बर्बादितिर धकेलिन्छ । अहिले बैंकहरु लोन दिने अवस्थामा छैनन् । एमाले भोटको राजनीति होइन, देशको विकासका लागि राजनीति गर्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको बताए । नेता ओलीले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस् । आफैं ढलोस् ।’

नेता ओलीले बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको बताएका थिए । यस क्रममा उनले नयाँ व्यवसाय गर्न मुस्किल रहेको भन्दै बैंकहरूले पनि व्यवसायका लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै व्यवसायीहरू यतिबेला समस्यामा परेको भन्दै वर्तमान सरकारले त्यसलाई समाधान गर्न नसक्ने उनको जिकिर थियो ।

 

शेयर गरौ

ताजा अपडेट