चितवन समाचारडटकम, चैत २३ गते । पूर्वी चितवन भएर बहने राप्ती नदी र लाेथर खाेलाबाट त्यस क्षेत्रमा कटान र डुवानले स्थानीयलाई बर्षाै पिराेल्याे ।
एमाले नेता पूर्व जनप्रतिनिधि स्वर्गीय जेपी भेटवालले राप्ती ड्याक परियोजना अघि सारे । तटवन्धन पछि वाढि पिडितले राहतकाे महसुस गरे । नेता भेटवालकाे निधन भएको चार वर्ष वित्याे । तर, पूर्बी चितवनवासीकाे मनमा अमर बने ।
अहिले त्यसक्षेत्रमा प्रतिनिधि सभा सदस्य एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे हुनुहुन्छ । प्रदेश सभा र स्थानीय तहमा पनि एमालेकै जनप्रतिनिधि छन् ।
सांसद पाण्डेकाे अगुवाइ र एमालेका सबै जनप्रतिनिधिकाे सक्रियतामा नदी कटान नियन्त्रण गर्न अहिले बृहत् परियाेजना अघि बढेको छ ।
दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म आरसीसी पर्खाल लगाउने काम अगाडि बढेको हाे ।
पूर्वी चितवनमा राप्ती नदीको कटान र डुबानले मानवबस्ती जोखिममा रहने भएपछि स्थायी समाधानका लागि पक्की पर्खाल लगाउने काम अगाडि बढेको हो । आर्थिक वर्ष ०७७/७८ को साउनबाट निर्माण कार्य सुरु भएको परियोजना सम्पन्न भएपछि नदी कटान समस्या समाधान हुने नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रवीन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
बहुवर्षे कार्यक्रमअन्तर्गत नदी नियन्त्रणका लागि अहिले काम भइराखेको छ । लोथरदेखि सौराहाको हात्ती प्रजनन केन्द्रसम्मको २६.८ किलोमिटर लम्बाइ भएको ड्याम नेपालमा नै पहिलो संरचना हुने प्रमुख थापाले बताउनुभयो । ढुङ्गाको तारजाली भएका ड्याम धेरै स्थानमा छन्, उहाँले भन्नुभयो, ‘ती ड्याम लामो समयसम्म टिक्न सक्दैन, अब यस्ता आरसीसी ड्यामले दीर्घकालीन समाधानको काम गर्दछ । ’
लोथरदेखि सौराहासम्म निर्माण हुने पर्खालको उचाइ छ मिटरको हुनेछ । माथि करिब छ मिटरको चौडाइ फराकिलो सडक निर्माण हुने भएकाले वैकल्पिक राजमार्गका रूपमा रहनेछ । चितवन राष्ट्रिय निकुञ्जको नजिकबाट सौराहा लोथर सडक भएकाले छिटो यात्रा गर्नसकिने, नदी कटान समस्या समाधान हुने उहाँले जानकारी दिनुभयो ।
चार अर्ब २८ करोड रुपियाँ बराबरको लगानीमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने यो परियोजनाको काम गत वर्षबाट सुरु भएको हो । सुरुमा एक करोड रुपियाँ विनियोजन भएको यस योजनामा हरेक वर्ष बजेट वृद्धि गर्दै लैजाने गरी बजेट सुनिश्चित भएको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिनुभयो ।
पहिलो वर्ष थोरै बजेट आएकाले काम धेरै हुनसकेको छैन अब बजेट वृद्धि भएर आएपछि निर्माणले तीव्रता पाउँछ । कार्यालय प्रमुख थापाका अनुसार बहुवर्षे योजनाअनुसार सरकारले प्राथमिकताका आधारमा अब बजेट वृद्धि गर्दै लैजानेछ । ड्याम निर्माण सम्पन्न भएपछि पर्यटकीय क्षेत्र सौराहा कटान समस्या समाधान हुनेछ । पूर्वी चितवनवासीलाई सधैँ राप्ती नदी कटानको समस्याले सताउने गरेको थियो राप्ती नगरपालिकाका स्थानीय घनश्याम कँडेलले भन्नुभयो, ‘यो निर्माण सम्पन्न भएपछि नदी नियन्त्रण मात्र होइन, आयआर्जनको बाटोसमेत बन्नेछ । ’ ड्यामसँग सडक निर्माण हुने भएकाले त्यस क्षेत्रको आर्थिक गतिविधि वृद्धि हुने उहाँले बताउनुभयो ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ड्याम निर्माणले सौराहाक्षेत्रको पर्यटकीय गतिविधि लोथरसम्म जाने बताउनुभयो । सौराहाका पर्यटन व्यवसायी माधव दवाडीले भन्नुभयो, “बाढी र नदीले गर्ने कटानको कारण हरेक वर्ष त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भन्ने विश्वास लागेको छ । ” निर्माण कार्य छिटो भएमा पूर्वी चितवनवासीले राहत पाउने उहाँले बताउनुभयो ।