चितवन २१ चैत । नेकपा एमालेका चर्चित नेता जागृतप्रसाद भेटवालको जीवनमा आधारित स्मृतिग्रन्थ विमोचन गरिएको छ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सोमबार भरतपुरमा आयोजित एक सभामा ग्रन्थको विमोचन गर्नु भएको हो । कम्युनिष्ट आन्दोलन र जागृतप्रसाद भेटवाल जेपीले नेपाली राजनीतिमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुभकामना सन्देशसहित वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जगन्नाथ थपलिया, पार्वती रावल, कृष्णभक्त पोखरेल, चेपाङ वस्तीका स्थानीय व्यक्तिलगायत ७८ जनाको लेख समावेश गरिएको छ ।
नेपाली राजनीतिमा भेटवालको भूमिका, पत्रकारिता, सामाजिक क्षेत्रमा योगदान, सामान्य व्यक्तिप्रति उहाँको सोचाइ, पूर्वी चितवनको विकासमा उहाँको भूमिका, पञ्चायत कालिन अवस्थामा प्रजातन्त्र स्थापनाको लागि गर्नु भएको योगदान सवै विषयवस्तु पुस्तकमा समेटिएको पुस्तकका संपादक नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । पुस्तक पढेपछि भेटवालले समग्र क्षेत्रमा गर्नु भएको योगदानको विषयमा जानकारी पाउन सकिने छ ।
विमोचन कार्यक्रममा उपाध्यक्ष पोखरेलले नेपाली राजनीतिमा भेटवालबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । कठिन समयमा कसरी टिकेर वस्ने, पार्टीको निर्णय कार्यान्वयन गर्ने, जनताको सेवकका रुपमा कसरी रहने, पार्टी निर्माणमा खटिने विषयमा उहाँ एउटा महाकाव्यको रुपमा रहेको बताउनु भयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, नेता देवी ज्ञवालीलगयातले मन्तव्य राख्नु भएको थियो । एमाले अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा आएकाहरुलाई स्वागत गरिएको थियो ।
२०५२ पृष्ठको स्मृतिग्रन्थको प्रकाशन समितिको संयोजकका पार्वती रावल रहनु भएको छ । सम्पादकमा नारायणप्रसाद सापकोटा र सहसम्पादकमा रमाकान्त सापकोटा रनु भएको छ । वि.सं २००९ साल भदौं १३ गते काभ्रेको पाँचखालमा जन्मिनु भएका स्वर्गीय नेता भेटवाल चितवनलाई कर्मक्षेत्र बनाएर २०२८ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहनु भएको थियो । २०४८ र २०५१ सालमा चितवनबाट एमाले सांसदमा निर्वाचित भएका थियो ।