एमाले चितवनका अध्यक्षकाे प्रश्न : फेरी पनि मतपत्र च्यातेर चुनाव जित्ने ?

 

चितवन समाचार डटकम ।

२०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैंछ । राजनीतिक दलहरु चुनावी प्रचारमा जुटेका छन् । भरतपुर महानगर सहित चितवन जिल्लामा हुने सातवटा पालिकाको निर्वाचनको सरगर्मी यहाँ शुरु भएको पाइएको छ ।

गत निर्वाचनमा चितवनमा धैरै पालिका र वडाहरुमा जीत हासिल गरेको प्रमुख पार्टी नेकपा एमालले निर्वाचनको तयारी के कस्तो गरिरहेको छ ? यसै बिषयमा केन्द्रीत रही हामीले नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेसंग कुराकानी गरेको छौ ।

प्रश्न – स्थानीय निर्वाचनलाई लिएर नेकपा एमालेको चुनावी तयारी कस्तो छ ?
वैशाख ३० गते तोकिएको स्थानीय निर्वाचनलाई लक्षित गरी नेकपा एमाले चितवनले अभियानको रुपमा कार्यक्रम अगाडि वढाएको छ । त्यसको तयारीका निम्ती हामी फागुन २३ गते जिल्ला कमिटीको वैठक वस्यौं । टोलटोलमा एमाले जनताको सुख दुःखमा एमाले भन्ने नारासहित घरदैलो अभियान सुरुवात गरेका छौ । फागुन २१ गते नै त्यसको तयारीका लागि ५५५ जना नेता कार्यकर्तालाई वोलाएर अनुशिक्षण गरेका थियौ । ती अनुशिक्षण पश्चात घरदैलो अभियान टोलटोलमा भइराखेको छ । हामी स्थानीय चुनावको तीब्र तयारीमा गएका छौ ।

प्रश्न- जिल्लामा एमालेको पोजिशन कस्तो पाउनु भएको छ ?
उत्तर ः हामी एकदम खुसी छौ । नेकपा एमालेका विरुद्ध जुनढंगले गठवन्धन अस्त्रहरु फालियो । जसरी घेरावन्दी गर्ने प्रयत्न गरियो । तर आमजनताको एमाले प्रति आशावादी र उत्साहजनक ढंगले सहभागीता भएको छ त्यसले हामीलाई गठवन्धनले केही गर्न सक्दैन भन्ने प्रमाणित गरेको छ । त्यसैले गठवन्धनले हामी एमालेलाई नकरात्मक प्रभाव पार्दैन अझ हामी प्रतिको विश्वास र भरोसा जनतामा बृद्धि भएकोे छ । र हामीले जनतालाई आशा र भरोसा दिन सकेका छौ ।

प्रश्न – नेकपा एमाले चितवनले जिल्लाका स्थानीय तहसम्म के एजेण्डा लिएर गएको छ ?
उत्तर ः नेकपा एमाले विकास र समृद्धिको अभियानको नायक हो । सुखी नेपाली समृद्ध नेपालको अभियन्ता पनि हो । त्यसैले नेकपा एमालेसंग प्रष्ट भिजन छ अरुसंग छैन । हामीले भन्यौ राजनीतिक कोर्ष परिवर्तनका हिसाबले हामी व्यवस्था परिवर्तनको एउटा तहमा पुगिसकेका छौ । र अहिले गणतन्त्रको अवस्थामा आएका छौ । अवको दशक भनेको विकास र समृद्धिको अभियान हो भन्ने एमालेको निश्कर्ष हो । पार्टी अध्यक्ष केपी ओलीको सरकारले त्यो अभियानको नेतृत्व ग¥यो । विकास र समृद्धिको अभियानमा एमालेले के गरेको छ त्यही काम हामीले जनता माझ लैजाने काम गरेका छौ । विगतमा एमालेको सरकारले गरेका राम्रा काम देखेर जनता खुसी भएका छन् । नेपाललाई थप विकास गर्न र समृद्ध पार्नको लागि एमालेको सरकार चाहिन्छ र एमालेको नेतृत्व चाहिन्छ । हाम्रो सरकारले नेपाललाई अल्पविकसितबाट विकासोन्मुख मुलुकको रुपमा लैजान सफल भएको छ । हामी विकाससील राष्ट्रकारुपमा पुग्नको लागि थप काम गर्न पर्ने भएको छ । हामी सवै जनतालाई धनी बनाउने र सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने काम धेरै गर्नुपर्ने छ । ती काम गर्नको लागि एमालेको नेतृत्व चाहिन्छ एमालेलाई जिताउनु पर्दछ अनि मात्र विकास सम्भव छ । चाहे त्यो केन्द्रीय समस्या होस चाहे स्थानीय समस्याहरु हुन् ती सवै समस्या एमालेले समाधान गर्न सक्छ भनेर जनताले आशा गर्नु भएको छ । त्यसले हामीलाई खुसी बनाएको छ ।

प्रश्न – विपक्षीहरु गठवन्धन भएर एमाले विरुद्धमा आउने भएका छन् । एमालेलाई त्यो गठवन्धनले
कत्तिको भारी पार्दछ ?

उत्तर ः बास्तवमा हामीलाई गठवन्धनसंग जुध्ने बानी परिसकेको छ । तपाईलाई स्मरण होला, हामी २०७४ सालको स्थानीय निर्वाचनमापनि चितवनमा काँग्रेस र माओवादीको गठवन्धनसंग लडेका हौं । हामीले यहाँ भरतपुरमा पनि बेहो¥र्यौ । गठवन्धनवाट रेणु दाहाल र हाम्रो पार्टीबाट देवी ज्ञवाली निर्वाचनको मैदानमा थियौ । देवी ज्ञवालीले निर्वाचन जित्नु भएको थियो । जव निर्वाचनमा हार्ने निश्चित भएपछि रेनु दाहालका प्रतिनिधिपात्रहरुले मतपत्र च्यात्नु भयो । लोकतन्त्रमा निर्वाचनमा सहभागी हुने हार्ने भएपछि मतपत्र च्यात्ने यो अवस्था आउनु कतिको राम्रो पक्ष हो ?

एउटा विद्यार्थी परीक्षामा सहभागी हुन्छ फेल हुन्छ भनेपछि कापी च्यातेर पास गर भन्छ यस्तो सम्भव हुन्छ र ? तर यहाँ सम्भव भयो । लोकतन्त्रमा जनताको मतलाई अपमान गरेर च्यातियो र राज्यसत्ताको दुरुपयोग गरेर पुन निर्वाचन गराएर निर्वाचन जित्ने कुरा जनताले विर्सेका छैनन् । भरतपुर महानगरवासीले कहिल्यै विर्सदैनन् । यो विषय जनताले विर्सेका छैनन् । अव हिजोका हर्कतको वदला जनताले लिनेछन् । धेरै काँग्रेसका साथीहरुले भनिरहेका छन् । आम जनताले भनिरहेका छन् एमालेको पक्षमा उभिन्छौ । काँग्रेसले पनि त्यही बोलेको छ । हिजो लोकतन्त्र जोगाउनका लागि हामी लडेका थियौ एमाले पनि लडेको थियो । मतपत्र च्यात्ने पार्टीले लोकतन्त्र जोगाउन सक्दैन भनेर काँग्रेसले भनिराखेको अवस्था छ । लोकतन्त्रको मुल्य र मान्यतालाई स्थापित गर्न र जनतको सुखदुखमा साथ दिन एमाले तयार छ त्यसैले यो पटकको निर्वाचनमा एमालेलाई जनताको साथ रहन्छ भन्ने मलाई पूर्ण विश्वास छ ।

प्रश्न – अबको निर्वाचन निश्पक्ष हुन्छ, सत्ताको दुरुपयोग हुदैन , मतपत्र च्यातिदैन चपाइदैन भन्नेमा तपाइ कतिको विश्वस्त हुनुहुन्छ ?
उत्तर ः यस विषयमा हामी सशङकित छौ । यस विषयमा हामी सचेत भएका छौ । जनमतको दुरुपयोग त भैसकेको छ । सुरुवात त पाँच वर्ष अगाडि भैसकेको छ फेरी नहोला भन्न सकिदैन । सत्ताको दुरुपयोग त भैराखेको छ नी । तपाइहरुले देख्न सक्नु हुन्छ । नारायणी तटवन्धनको आयोजना केन्द्रीय सरकारको आयोजना हो । हिजोदेखिनै नियमित रहेको छ । नेकपा एमालेका नेता र तातकालिन अवस्थामा नेकपाका नेता प्रचण्डले पनि पहल गर्नु भएको हो । हामीलाई त्यो आयोजनाको उद्घाटनको विषय ठुलो रहेन यस विषय हामीलाई आपत्ती भयो कि केन्द्रीय सरकारको आयोजनाको कार्यक्रममा महानगरपालिका आयोजक भएर कार्यक्रम भएको छ । यो भनेको सत्ताको दुरुपयोग हो । विधिले त यो मिल्दैन । तर यस्तै प्रकारको काम अहिले भैराखेको छ ।

प्रश्न – सिटी हल, भरतपुर गोन्द्राङ सडक महानगरपालिकाले निर्माण गरेको भनेर सुनिदै आएको छ तपाइ के भन्नु हुन्छ यस विषयमा ?
उत्तर ः यो विषय ज्यादै लाजमर्दो विषय हो । यो परियोजना तत्काालिन केपी शर्मा ओलीको नेतृत्वको सरकारले अगाडि ल्याएको हो । यो दुइ विकासका कार्यक्रममा भरतपुर महानगरपालिकाको एक रुपियाँ पनि परेको छैन । केन्द्र सरकारको लगानीमा भएको कार्यक्रमलाई महानगरको भन्नु यो जतिको लाजमर्दो अरु के होला र । यो दुइ परियोजनाको प्रधानमन्त्री ओलीले शिलान्यास गर्दा मेयर आउनु भएन । शिलान्यास कार्यक्रमको विरोध गरेर वस्नु भयो यस्तो अवस्थामा महानगरको कार्यक्रम भनेर बोल्न कति लाज नभएको अचम्म पर्ने विषय छ । यो दुइ परियोजना एमालेको भिजनमा बनेका कार्यक्रम हुन् । एमाले चितवनले यसको अगुवाइ गरेको छ अहिले निर्माण कार्य भइराखेको छ । महानगरको अगुवाइमा भनेर रिङरोडको परिकल्पना गरेर घैलाघारीमा प्रचण्डलाई लगेर सिलान्यास गरेका थियौ । त्यो त्यसै अलपत्र भएको छ । ठोस डीपीआर समेत बन्न सकेको छैन । रिङरोड कहाँबाट लैजाने भन्ने योजना महानगरको नेतृत्वसंग छैन ।
भरतपुर जस्तो नेपालको बिच भागमा रहेको महानगरमा एउटा गतिलो ल्याण्डफिल्ड साइड छैन । तीब्र सहरीकरणले जनसख्या वृद्धि भएको छ । फोहोर व्यवस्थापन छैन । कहाँ फोहोर फाल्ने अझै कुनै टुङगो छैन । महानगरले गौरवको आयोजना भएको गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला त्यसै अलपत्र परेको अवस्था छ । कति जनताले लाखौ करोडौ सहयोग गरेका थिए । त्यसको अवस्था हेरे पुग्छ ।

प्रश्न – अब फेरी पनि गठवन्धनको तर्फबाट महानगरको उमेद्वार रेनु दाहाल आउने चर्चा छ तपाईको पार्टीको तर्फबाट तयारी के भइराखेको छ ?
उत्तर ः रेनु दाहाल आउनु भयो भने हामीलाई असाध्यै राम्रो हुन्छ । एमालेलाई किन राम्रो हुन्छ भने उहाँ रेनु दाहाल मत माग्न जाने आधार छैन । गलत तरिकाले मेयरमा जितेर आएपनि विकासको प्रष्ट भिजन उहाँमा छैन । विकास गर्न सक्नु भएको छैन । फेरी निर्वाचन जित्न सक्नु भएन भने फेरी पनि मतपत्र च्यातेर निर्वाचन जित्ने ? जसरी पनि निर्वाचन जित्नको लागि आउन खोज्नु भएको हो । यदी गठवन्धनको तर्फबाट उहाँ पुन मेयरमा आउनु भयो भने हामीलाई फाइदा हुन्छ । हिजो उहाले मतपत्र च्यात्न लगाएर जित्नु भएको वदला जनताले लिनेछन् । उहाले लोकतन्त्र प्रति गर्नु भएको निर्मम प्रहारको वदला जनताले यसरी लिने छन् की उहाँलाई निर्वाचन भनेको जीवनभर सम्झनु हुन्छ । निर्वाचनमा गलत गर्दा, लोकतन्त्रको मर्म विपरित हिड्दा जनताले सजाय दिदा रहेछन् भन्ने सवक उहालाई सिकाउनु छ । लोकतन्त्रमा जनताको मतपत्रको अपमान गर्नेलाई कसरी सवक सिकाउनु पर्दछ भन्ने समय भरतपुरवासीले कुरेर बसेका छन् ।


प्रश्न – एमालेबाट  को हुन् भरतपुरमा मेयरको उमेदवार ?
उत्तर ः हामी छलफलमा छौ । पार्टीले महत्वपूर्ण नेताहरुलाई नै उमेदवारी दिन लगाउछ । पार्टीमा एकसय एक नेताहरु सक्षम हुनुहुन्छ । महानगरको नेतृत्वमा आकांक्षा राख्ने कुरा स्वभाविक हो । तर परिस्थितिले कस्तो नेतालाई माग गर्दछ र पार्टीले के निर्णय गर्दछ भन्ने मुख्य कुरा हो । हामी विधि संगत ढंगले सर्वसम्वत निर्णय गर्दछौ । नेताहरु अहिले छिनाझम्टीमा हुनुहुन्न । अहिले आकाक्षीका हिसावले हेर्दा हिजो भिक्टिम हुनु भएको देवी ज्ञवाली, विजय सुवेदी, लोकप्रिय नेता माननीय कृष्णभक्त पोखरेलको पनि इच्छा रहन सक्छ । उहाँहरु जस्तै युवा नेताहरुको पनि चाहना रहेको छ । तर पार्टीले कसलाइ उमेदवारी दिन लगाउछ भन्ने निश्चित भएको छैन । हामीले उपयुक्त उमेद्वार जसले भरतपुर महानगरको विकास र समृद्धिमा उत्कृष्ट भिजन दिन सक्ने नेतालाई अगाडि सार्नेछौ । जनताको विश्वास जित्ने गरी काम गर्न एमाले तयार छ । भरतपुर मात्र होइन जिल्लाका अन्य पालिकाहरुमा पनि सक्षम क्षमतावान लोकप्रिय नेतालाई उमेद्वारी दिन लगाउने छौ ।

प्रश्न -पार्टीबाट अलग भएको माधव नेपाल समुह नेकपा एकीकृत समाजवादी पार्टीबाट हुने क्षतीको आकलन कस्तो गर्नु भएको छ ?
पार्टीको रुपमा विकास नभएको चोइटिएर गएकोलाई हामीले पार्टी मानेका छैनौ । भ्रमवस जानु भएका साथीहरु फर्कनु भएको छ र फर्कने क्रम जारी छ । केही दिन अगाडि मात्रै भरतपुर १९ रेनु दाहालले मत पत्र च्यात्न लगाएको वडाका प्रकास तामाङसहित सिगों वडा कमिटीनै एमालेमा समाहित भएको छ । अरु धेरै स्थानमा जनप्रतिनिधिहरु एमालेमा समाहित भएका छन् र क्रम जारी छ । फेरी समाजवादीमा गएका भन्दा धेरै साथीहरु एमालेमा आइसकेका छन् । नेकपाको निरन्तरताका रुपमा माओवादी केन्द्रका र अन्य पार्टी, काँग्रेस, राप्रपाबाट एमालेमा आउने क्रम बृद्धि भएको छ । त्यसैले समाजावादीमा गएकाहरुको प्रभाव एमालेमा पर्दैन ।

प्रश्न -अन्त्यमा  गठवन्धनको एउटा, एमालेका उमेद्वार र अन्य पार्टीका उमेद्वारहरु प्रतिश्पर्धामा हुन्छन् । अन्य दलका र एमालेका उमेदवार बीच के फरक छ ? एमालेलाई नै किन मत ? जनताले फरक के पाउछन् ।
उत्तर स्वाभाविक रुपमा एमाले पार्टी र हाम्रा नेताहरुमा फरक छ । अन्य पार्टीले जिते जस्तो भद्रगोल विकासका योजना ल्याउदैन । एमाले पार्टी व्यवस्थित पार्टी हो र यसले देश विकासलाई व्यवस्थित तरिकाले लैजान्छ । योजनाका साथ, त्यो वर्ग समुदायको निम्ती विकासका कार्यक्रम ल्याउछ जसले समाज निर्माणका योगदान दिएको छ । हामीले जितेका हरेक पालिकामा विकासका योजना प्रष्ट छ र विकासको नमुनाका रुपमा पालिकाहरु रहेका छन् । एमालेले जितेमा शुसासन, भ्रष्टाचारको न्यूनिकरण, सेवा सुविधा सर्वसुलभ , जनताको काम छरितो गर्ने योजना हामी संग छ । अन्य पार्टीका नेतामा एमालेको जस्तो भिजन छैन । अन्य पार्टीसंग न भिजन छ न योजनावद्ध कार्यक्रम ल्याउने क्षमता छ । सवै दृष्टिले सक्षम पार्टी र नेतृत्व भनेको एमाले हो ।
उदाहरणमा भरतपुर महानगरलाइ लिन सकिन्छ । यहाँको बजेट पाँचसय करोड छ । तर विकास हेर्नुस छैन । वडालाई एक करोड ७० लाख रुपिया दिएको छ । यसले कसरी विकास सम्भव छ । यहाँको नेतृत्व कसले गरेको छ माओवादीले । पहिला काँग्रेसले नेतृत्व लिइरहदा स्थानीय निकायमा बजेट पठाउदैन थियो । केन्द्रमा थुपार्ने गरेको थियो । त्यसलाई चिर्दै एमालेको ९ महिने सरकार आएपछि ग्रामिण भेगमा बजेट निकासा गरियो । आफ्नो गाउ आफै बनाउन भन्ने नारा ल्याएर विकासको नयाँ आयाम ल्याएको थियो । काँग्रेसले केन्द्रमा थुपारेको जस्तै महानगरमा माओवादी नेतृत्वले बजेट वडामा दिएको छैन । कम्तीमा वडामा ४ करोड भन्दा माथि दिनु पर्दछ । एमालेको नेतृत्व भएमा कम्तीमा वडामा ५ करोड बजेट दिने छौ । एमालेसंग प्रष्ट भिजन योजना र काम गर्न सक्ने क्षमता भएकाले एमालेको उमेद्वारलाई मतदान दिएर जिताएमा समृद्ध नेपाल सुखी नेपालीको कल्पना पूरा हुनेछ ।

 

शेयर गरौ

ताजा अपडेट