चितवन, १० चैत । चितवनमा दुइ ठुला राजनीतिक दलले स्थानीय निर्वाचन केन्द्रीत अभियान तिब्र रुपमा अगाडि बढाएका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस र प्रतिपक्षमा रहेको नेकपा एमालेले निर्वाचन केन्द्रीय घरदैलो र सभा सम्मेलनको आयेजना गरी पार्टीका एजेण्डाहरु जनता माझ लैजान थालेका छन् । सरकारमा नै रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले भने निर्वाचन केन्द्रीत कार्यक्रमलाई तिब्रता दिन सकेको छैन । निर्वाचनलाई प्रभावित पार्ने गरी सिलान्यास र उद्घाटनका कार्यक्रम गरेपनि माओवादीले घरदैलो कार्यक्रमलाई जिल्लाभरी सञ्चालन गर्न सकेको छैन ।
नेपाली काँग्रेस चितवनले साना सभा सम्मेलन र घरदैलो मार्फत पार्टीको एजेण्डा जनतामा लगेका छन् । काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले भन्नुभयो ‘ घरघर जाँउ काँग्रेस जिताउ अभियान चलाएका छौ ।’ हामी जनताको घरमा विभिन्न माध्यमबाट गएका छौ सरकारले गरेका कामको जानकारी गराएका छौ पार्टीको एजेण्डा लगेका छौ घरघरमा काँग्रेस पुगेको छ ।’ नेपाली काँग्रेसको बलियो उपस्थिति रहेको चितवनमा यस पटक नतिजा राम्रो आउने विश्वास लिएको उहाले बताउनुभयो ।
जिल्लाका सातै पालिकामा निर्वाचन केन्द्रीत गतिविधि गरेका छौ खनालले भन्नुभयो गठवन्धन भएपनि नभएपनि हामी निर्वाचनमा जानलाई कुनै समस्या छैन । कांग्रेसले रत्ननगरमा घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान सुरू गरेको छ । अभियानअन्तर्गत वडा समितिले टोलटोलमा पार्टीको समिति गठन र घरदैलो गरी भोट माग्न सुरू गरेको छ । अन्य पालिकामा पनि गतिविधि वृद्धि गरेको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले घरघरमा प्रचार सामाग्री वितरण गर्ने घरदैलो गर्ने सभासम्मेलन गर्ने जस्ता गतिविधिलाई तिब्रता दिएको छ । जिल्लाका हरेक पालिकाको वडामा विहानैदेखि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको एमाले पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीले जानकारी दिनुभयो । एमाले पार्टीलाई भोट दिनको लागि तयारी अवस्थामा जनता पुगेका छन् उहाले भन्नुभयो ‘हाम्रो नेतृत्वमा भएको सरकारले गरेका राम्रा काम जनताले सम्झेका छन् । वृद्धभक्ता, स्वास्थ्य विमा, आर्थिक वृद्धिद्धर, राष्ट्रियताको विषयमा चट्टानी अडानलाई जनताले भुलेका छैनन् ।’
जिल्लाका सातै पालिकाको ९८ वडाका घरघरमा एमाले पुगेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले बताउनुभयो । निर्वाचनका विषयमा जानकारी दिने गरी प्रशिक्षण कार्यक्रम, सवै भातृसंगठनले निर्वाचन केन्द्रीत कार्य गर्नलाई समेत निर्देशन दिएको र गतिविधि भएको उहाले बताउनुभयो । एमालेको लोकप्रिय कार्यक्रमलाई जनताले मनमा राखेकाले निर्वाचन जित्न कुनै समस्या नभएको अध्यक्ष न्यौपानले बताउनुभयो ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने अहिले हलमलमा परेका छन् । निर्वाचन कैन्द्रीत कार्यक्रमको विषयमा पार्टीले कस्तो रणनीति ल्याउछ त्यसै अनुसार कार्यक्रम गर्ने तयारीमा दुइ पार्टी रहेको छ । माओवादी केन्द्र चितवनका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले भन्नुभयो अहिले हामी हाम्रो नेतृत्वमा भएका कामको प्रचारमा लागेका छौ । निर्वाचन केन्द्रीत कस्तो तयारी पार्टीले गर्छ त्यही अनुसार कार्यक्रम हुन्छन् ।
अहिलेलाई भरतपुृर महानगरमा भएको विकासको नमुनाका विषयमा प्रचार गर्ने काम नै पहिलो हुने छ अधिकारीले भन्नुभयो । ति बाहेक पार्टीको आन्तरिक तयारीका कामहरु भने चलिराखेको जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी चितवनका सचिव केपी लामिछानेले निर्वाचन केन्द्रीत अहिलेनै कुनै कार्यक्रम नभएको बताउनुभयो । अहिले हामी टोल कमिटी गठन गर्ने काममा छौ । सात पालिका मध्य इच्छाकामना गाउपालिका र कालिका नगरपालिकाका केही टोलमा कमिटी गठन गर्न बाँकी छ ती बाहेक अन्य गतिविधि छैन लामिछानेले भन्नुभयो । बैशाखमा हुने निर्वाचनलाई अहिलेबाट घरदैलो कार्यक्रम गर्ने तयारीमा नभएको बताउनुभयो । अहिले निर्वाचनका काम भन्दा संगठन बलियो बनाउन कमिटी गठनका काममा लागेकाले अन्य काममा ध्यान नगएको जानकारी दिनुभयो । जिल्लामा १७ वटा भातृ संगठनले पूर्णता पाएका छन् सवै टोल कमिटी गठन भैसकेपछि केन्द्रमा कस्तो निर्णय हुन्छ त्यही अनुसार जिल्लाका कार्यक्रम निर्धारण गर्ने सचिव लामिछानेले बताउनुभयो ।
चितवनमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउपालिका रहेका छन् । यी मध्य भरतपुर महानगरमा र माडी नगरपालिकामा माओवादी केन्द्रको नेतृत्व रहेको छ । इच्छाकामना गाउपालिका काँग्रेसको नेतृत्व छ । बाँकी चारवटा पालिकामा मेयर र उपमेयर एमालेले जितेको छ ।
