चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार भारत हुँदै नेपाल आइपुग्ने

काठमाडौं ६ चैत  । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपालको औपचारिक भ्रमणमा आउने कार्यक्रम लगभग निश्चित भएको छ । उनी आउँदो शुक्रबार भारतको राजधानी नयाँदिल्ली हुँदै काठमाडौं आइपुग्ने कूटनीतिक स्रोतले जानकारी दिएको छ ।

भारतअघि उनी बेइजिङबाट सोझै पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने कार्यक्रम छ । विशेष विमानबाट आउन लागेका मन्त्री वाङले पाकिस्तानमा इस्लामिक राष्ट्रहरुको संगठनका विदेशमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी मार्च २२ तारिख अर्थात पर्सि मङ्गलवार इस्लामावाद जाने छन् ।

त्यसपछि भोलिपल्ट २३ तारिखका दिन भारतको राजधानी नयाँदिल्ली जाने कार्यक्रम छ । भारतको दुई दिने औपचारिक भ्रमण सकेपछि उनी मार्च २५ तारिखका दिन नयाँदिल्लीबाट काठमाडौं आउने कार्यक्रम लगभग तय भएको उच्च स्रोतले बताएको छ ।

आउँदो शुक्रबार र शनिबार काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
गत फागुन १५ गते नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन लगत्तै हुन लागेको चीनको पहिलो उच्चस्तरीय भ्रमणप्रति कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रले समेत विशेष चासो देखाएको छ ।

शेयर गरौ

ताजा अपडेट