नारायणकाजीलाई प्रचण्डको जवाफ : वामदेवको बाटो रोजे जिरो

काठमाडौं १६ फागन। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमबाट पाठ सिक्नुपर्ने बताएका छन् । एमसीसी अनुमोदन भएपछि खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले कोही पनि सेन्टिमेन्टमा आउन नहुने बताए ।

एमसीसीका विषयमा नारायणकाजी श्रेष्ठले असहमति जनाइरहेका छन् । एमसीसी संसदबाट पास भइसकेको अवस्थामा पनि उनले व्यख्यात्मक टिप्पणीलाई सुनियोजित भ्रम भन्दै अभिव्यक्ति दिइरहेका छन् । उनले एमसीसी राष्ट्रघाति भएको र आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनुपर्ने बताएका छन् ।

श्रेष्ठ आक्रामक भएपछि प्रचण्डले आश्वस्त पार्दै आफ्नो कुरा बाहिरभन्दा पनि केन्द्रीय कमिटीमा राख्न आग्रह गरे । ‘नारायणकाजी कमरेडलाई मैले भने तपाईलाई मतभेद राख्ने अधिकार छ । सबै एकैमत हुनुपर्छ भन्ने छैन । तपाइँको विचारलाई सम्मान पनि गरिन्छ । केन्द्रीय कमिटीको बैठक आउँदै छ । कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिर चाहिँ नबोल्नुस्,’ उनले भने ।

उनले वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाती भनेर पार्टी फुटाएको तर चुनावमा जिरो भएको उदाहरण दिँदै श्रेष्ठलाई फकाउने कोशिस गरे । ‘महाकाली सन्धिका बेला विचरा वामदेवले राष्ट्रघात भनेर एमालेको आधा केन्द्रीय कमिटी लिएर जानुभयो । भोट आउने बेला जिरो । एउटा जित्नु भएन । कोही सेन्टिमेन्टमा आउन आवश्यक छैन,’ उनले भने । उनले एमसीसीको विरोध गरेर जनताको सेन्टिमेन्ट आउने भए सबै जना प्रेम सुवालतिर जानुपर्ने बताएका थिए ।

शेयर गरौ

ताजा अपडेट