एमसीसी पास भएपछि खुशी छु, देश दुर्घटनाबाट बच्यो : प्रचण्ड

 

काठमाडौं १६ फागुन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् ।

एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि प्रचण्डले त्यसबारे सोमबार पत्रकार सम्मेलनमार्फत् स्पष्टीकरण दिएका हुन् । ‘राष्ट्रिय सहमति बनोस भनेर लागें तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखें’ उनले भने,‘ त्यसैले यो निणर्यमा पुगिएको हो ।’ उनले एमसीसी पास भएपछि आफू खुशी रहेको बताउँदै भने, ‘देश दुर्घटनाबाट जोगिग्यो ।’
उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको बताएका छन् । उनले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुशी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको बताए ।

‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुशी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’

आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरी पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राखेको प्रचण्डको जिकिर छ । ‘एमसीसीमा पहिला ओरिजिनल सहमति हुँदा संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन तर सन् २०१९ मा ओली सरकारले नै संसदबाट पारित गरेर कानुनी हैसियत दिने भनेपछि विवादित बन्यो’, प्रचण्डले भने ।

एमसीसीबारे विवाद बढ्दै गएपछि नेकपाको कार्यकारी अध्यक्षको हैसियतमा आफूले केन्द्रीय कमिटीको बैठकमा एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने प्रस्ताव राखेको प्रचण्डको भनाइ छ । ‘मेरै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा मैले नै गम्भीर विषय भएकाले संशोधन गरेर र राष्ट्रिय सहमति जुटाएर मात्रै निचोडमा पुग्न उचित हुन्छ भनेको थिएँ । त्यसपछि कार्यदल बन्यो, कार्यदलले दिएको निचोड एमसीसी खारेज गर्ने भन्ने थिएन तर केही विषय अलि गम्भीर प्रकृतिका कुरा छन् भन्ने कुरा आएपछि हामीले जस्ताको त्यस्तै पास गर्न सकिन्न भन्यौँ’, प्रचण्डले भने ।

नेकपाका त्यति बेलाका नौ जना सचिवालय सदस्यमध्ये सात जनाले एमसीसी जस्ताको त्यस्तै पारित नगर्ने भन्दा पनि केपी शर्मा ओली र अर्का एक जना जस्ताको त्यस्तै पारित गर्ने अडानमा रहँदा विषय झनै विवादित बनेको प्रचण्डले बताए ।

‘त्यति बेला ओली जस्ताको जस्तै पारत गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । नौ जना सचिवालय सदस्यमध्ये सात जना संशोधन नगरि हुन्न भन्नेमा लागे, ओली र अर्का एक जना नेताले जस्ताको त्यस्तै पारित गर्ने अडानमा थिए । एमसीसीलाई देश हितका लागि प्रयोग गर्न कुनै न कुनै प्रस्ताव संसदबाट पारित गरेर जान सकिन्छ कि भनेर पहिलो पटक मैले नै कुरा राखेको हो । ओलीले मानेनन्, यो कुरा अहिलेसम्म बाहिर आएको थिएन’, प्रचण्डले भने ।

शेयर गरौ

ताजा अपडेट