चितवन १६ फागुन । युथ क्लब नारायणगढले पश्चिम चितवन जगतपुरको आधारभूत विद्यालयमा शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ ।
विपन्न वर्गका बालबालिका अध्ययन गर्दै आएको घैलाघारीमा रहेको आधारभूत विद्यालयका ९२ जना छात्रछात्रालाई सामग्री वितरण गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २३ का अध्यक्ष नरिनारायण पौडेलले प्राप्त सामग्रीको सही रुपमा सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाले विद्यालयका आउने विभिन्न क्षेत्रको सहयोग सामग्री नगदहरु बालबालिकको शैक्षिक प्रयोजन बाहेकका क्षेत्रमा लगाउन नहुने बताउनुभयो । बालबालिकाको लागि आएको सामग्री अभिभावकले अन्य आफ्नो घरायसी प्रयोजनमा लगाउदा त्यसको असर उनीहरुको शिक्षामा पर्ने भएकाले ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर पौडेलले सरकारी स्कुलको विकासमा सवैको साथ आवश्यक रहेकोमा जोड दिनुभयो । युथ क्लबले ३० वर्ष अगाडिदेखि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको भन्दै सामाजिक क्षेत्रमा क्लबको भूमिका अझ शसक्त हुनु पर्नेमा जोड दिनुभयो ।
शिक्षक अभिभावक संघ अध्यक्ष डिलबहादुर अधिकारी युथ क्लव नारायणगढ का पूर्व अध्यक्ष ज्ञानेन्द्र पिया, निवर्तमान अध्यक्ष भगवान कुमार जोशी, उपाध्यक्ष शालिग्राम नेपाल, प्रधानाध्यापक लेखनाथ पौडेल र युथक्लव नारायणगढका सदस्य सौरभ प्रधानलगायतले सहयोग सामग्रीको उचित प्रयोगमा ध्यन दिनुभयो । आदिवासी जनजाति र दलित बाहुल्यता भएको विद्यालयमा गरिएको सहयोगले बालबालिकालाई अध्ययनमा थप उत्प्रेरणा जगाउने र बालमैत्री नगर निर्माणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको, बाल अधिकार कर्मी र शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रमका संयोजक रामचन्द्र आचार्यले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो ।


