एमसीसी अनुमोदनले माओवादी केन्द्रमा तीब्र असन्तुष्टि, अध्यक्ष प्रचण्डले ‘विशेष सम्बोधन’ गर्दै

काठमाडौं १६ फागुन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटना क्रमका विषयमा उनले सम्बोधन गर्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीको चर्को विरोध गरिरहेको नेकपा माओवादी केन्द्र पनि अन्ततः यसलाई संसदबाट अनुमोदन गर्न सहमत भएपछि विशेषतः पार्टीभित्रै विवाद र विभाजन देखिन थालेको छ । कतिपयले कार्यकर्ताले पार्टी नै परित्याग गर्न थालेका छन् ।

यसै परिपेक्ष्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट जोगिएको जनाएको छ । आइतबार प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि प्रचण्ड सचिवालयको यस्तो भनाइ आएको हो ।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई विश्वास गर्न पनि आग्रह गरेकी छन् । देश र जनताको हितबाहेक नेतृत्वको अरू कुनै स्वार्थ नभएको उल्लेख गरेकी छन् ।

धेरै विचार र विवेक पुर्‍याएर एमसीसी अनुमोदन गर्ने निणर्यमा पुगिएको उनको भनाइ छ । संयमित हुनुपर्नेमा उनले जोड दिएकी छन् । नेता(कार्यकर्ता तहमा नेतृत्वविरुद्ध भ्रम पैदा गराउन खोजिएको भन्दै सचेत हुन आग्रह गरेकी छन् ।
उनले एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रचण्डले विशेष सम्बोधन गर्ने जानकारी पनि दिएकी छन् ।

शेयर गरौ

ताजा अपडेट