सदनमा आज एमसीसीको छलफल हुने, अर्थमन्त्री भने पर्वतमा

काठमाडौं १२ फागुन । गएको आइतबार अमेरिकी सहायता सम्झौता एमसीसी प्रस्ताव टेलब गर्ने दिन ‘बिरामी’ परेका कारण संसद् बैठकमा अनुपस्थित अर्थमन्त्री जनार्दन शर्मा आज  उक्त सम्झौताबारे छलफल शुरु हुने दिन पनि अनुपस्थित हुने भएका छन् ।

गत आइतबार माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री शर्मा ‘बिसञ्चो’ का कारण प्रतिनिधि सभाको बैठकमा आउन नसकेपछि उनको सट्टा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पेस गरेका थिए ।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा पनि ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेञ्ज कम्प्याक्ट माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ । संघीय संसद् सचिवालयले बुधबारै सार्वजनिक गरेको दैनिक कार्यसूचीमा यो दोस्रो नम्बरमा राखिएको छ ।

तर अर्थमन्त्री जनार्दन शर्मा पर्वत पुगेका छन् । आज बिहीबार हुने पर्वत उद्योग वाणिज्य संघको साधरणसभामा सहभागी हुन भन्दै उनी हिजै  पर्वतको कुश्मा गएका हुन् ।

शेयर गरौ

ताजा अपडेट