अर्ना स्थानान्तरण छिटो गरिन्छ : वनमन्त्री यादव

चितवन, १० फागुन । वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले अर्ना स्थानान्तरणको लागि आवश्यक पहल गर्ने बताउनु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर स्थिति अर्ना राखिएको (खुला खोर)को सोमबार स्थलगत अवलोकनपछि उहाले वन्यजन्तु संरक्षणका लागि मन्त्रालय गम्भिर रहेको बताउनुभयो । वंश विस्तारको लागि भन्दै विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्षण र सदर चिडियाखाना काठमाडौँबाट चितवन ल्याएको अर्ना मरेर अहिले ३ वटामा झरेको छ ।
१५ वटा अर्ना ल्याएकोमा बाढीले बगाउने, बाघले खाने गर्नाले अहिले ३ वटामा पुगेको हो । वंश विस्तार गर्ने भनेपनि ल्याएको अर्नानै मासिने डर भएपछि निकुञ्ले मन्त्री यादवलाई अवस्थाको विषयमा जानकारी गराएको थियो । मन्त्री यादवले कोसीटप्पु आरक्षणमा रहेका अर्नालाई विभाग मार्फत ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको मात्र नभइ देशैभरीका निकुञ्ज आरक्षण क्षेत्रलगायतका स्थानमा रहेका बन्य जन्तु संरक्षणका लागि प्रभावकारी कार्य गर्ने बताउनुभयो । नेपालमा रहेका वन र वन्य जन्तुको कारण पर्यटक आउने, जैविक विविधता कायम रहने नेपालीको पहिचान कायम राख्ने भएकाले मन्त्रालय थप जिम्मेवार भएर काम गर्ने जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा रहेका वन्यजन्तुको पछिल्लो अवस्थाको वारेमा जानकारी गराएको बताउनुभयो । कोसीबाट अर्ना ल्याउने पहल भइराखेपनि अहिले काम भइनसकेको बताउनुभयो । वन्य जन्तु विभाग मार्फत चितवनमा थप अर्ना ल्याउने तयारी रहेको छ उहाले भन्नुभयो यहाँ भएका कमीकमजोरीलाई सुधार गर्दै वंश विस्तारको लागि ल्याउने योजना छ ।
मन्त्री यादवले सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको पनि निरिक्षण गर्नु भएको छ । वन्यजन्तु अस्पताल, म्युजियम लगायतको निरिक्षण गर्नु भएको हो । म्युजियममा रहेका अखोटोपहार सहित ल्यावको लागि आवश्यक सामग्रीको अभाव रहेको छ राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले भन्नुभयो । बजेटको अभावमा काम गर्न सकिएको छैन । त्यस्तै गरी वन्यजन्तु अस्पतालमा उपचार गराइएका जनावरलाई ठिक नहुदा सम्म राख्नको लागि स्थान अभाव भएको छ । यस विषयमा पनि जानकारी गराएका छौ उहाले भन्नुभयो । एक वर्ष आगाडिबाट सञ्चालनमा आएको वन्यजन्तु अस्पतालमा विरामी भएका अपाङग भएका जनावरलाई लामो समयसम्म राख्न समस्या भएको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट