चितवन मेडिकल कलेज विरुद्ध परेको उजुरी मन्त्रालय पठाइयो

"निः शुल्कको नाममा पैसा लिएको भेटियो : प्रजिअ तामाङ"

चितवन, २० माघ । सरकारसंग भएको सम्झौता विपरित चितवन मेडिकल कलेजले लिएको शुल्कका विषयमा परेको उजुरी मन्त्रालय पठाइएको छ ।
कोरोनामा निःशुल्क उपचार गर्न भएको सम्झौता विपरित विरामीसंग मेडिकल कलेजले शुल्क लिएपछि उजुरी गर्न जिल्ला प्रशासनले सूचना जारी गरेको थियो । सूचना आधारमा प्रमणसहित विरामी र उसका आफन्तले उजुरी हालेपछि त्यसमा अध्ययन गरेर मन्त्रालय पठाएको हो ।
आवश्यक अनुसन्धानका लागि मन्त्रालयलाई नै आग्रह गरिएको छ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । यहाँ छलफल गरेर निकास निस्कने अवस्था रहेन त्यसैले सवै विवरण र प्रारम्भिक अनुसन्धानले देखाएको विवरण सहित मन्त्रालय पठाएका छौ उहाले भन्नुभयो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठक बसी उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । उजुरी मन्त्रालयमा पठाएकोबारेमा चितवन मेडिकल कलेजलाई प्रशासनले जानकारीसमेत दिएको छ ।
‘मन्त्रालयमा उजुरी र बिलको सक्कलै कागज पठाइदिएका छौँ’, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो, ‘निर्णयबारे सम्बन्धित मेडिकल कलेजका प्रतिनिधिलाई पनि लिखित जानकारी दिएका छौँ ।’ आफूहरुले गरेको प्रारम्भिक अनुसन्धानमा धेरै मानिसहरुसँग निःशुल्कको नाममा पैसा लिएको भेटिएको छ उहाले भन्नुभयो ।
अस्पतालमा भएको घटनाको विषयमा राष्ट्रिय अनुसन्धानले पनि छानबिन गरेको थियो । जसमा २० जना संक्रमित तथा तिनका आफन्तसँगको सोधपुछका क्रममा १८ जनाले कोरोना भएकै अवस्थामा पैसा तिरेको भनी जवाफ दिएका छन् ।
कोरोना संक्रमितको उपचार सम्झौताबारे आफूहरुलाई जानकारी भएको तर उपचार सेवाबारे अनुगमन वा गुनासो सम्बोधन गर्न कुनै जिम्मेवारी माथिल्लो निकायबाट नआएकाले आफूहरुले मन्त्रालयलाई नै थप अनुसन्धानका लागि कागजपत्र पठाइदिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । मंगलबारसम्म १० जनाले प्रशासनमा उजुरी दिएका छन् । उजुरी आउनेक्रम जारी रहेको र त्यसलाई पनि मन्त्रालयमा पठाइने छ । सूचनामा एक साता भनेपनि अस्पतालले निःशुल्कको नाममा शुल्क लिएको भनी प्रमाणसहित आएमा जहिले पनि उजुरी गर्न सकिने तामाङले बताउनुभयो । फोन इमेल मार्फत उजुरीहरु आइराखेको प्रशासनले जानकारी दिएको छ ।
सरकारसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले जनतासँग पैसा लिन खोजेको आरोप छ । जिल्ला प्रशासनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिकरुपमै आह्वान गरेपछि एकपछि अर्को संक्रमितहरु प्रशासनमा उजुरी लिएर पुगेका छन् । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भनी यी दुवै मेडिकल कलेजसँग सम्झौता गरेको थियो ।
कलेज अफ मेडिकल साइन्सेस भरतपुर (पुरानो मेडिकल कलेज) विरूद्ध भने कसैको उजुरी परेको छैन । चितवन मेडिकल कलेजले नौ सय ६६ जनाको १० करोड ९५ लाख र पुरानो मेडिकल कलेजले १ करोड ७० लाख निःशुल्क उपचार दाबी गरी सरकारसँग सोधभर्नाका लागि निवेदन दिएका छन् । संक्रमितहरुको उपचार व्यवस्थापनसम्बन्धमा सम्झौता भएका अस्पतालहरुले ०७८ वैशाखदेखि असार १५ सम्म उपचार गरिएको बिरामीहरुको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो ।

शेयर गरौ

ताजा अपडेट