चितवन, ८ माघ । उचित स्याहार संरक्षण गर्न नसक्दा वंश विस्तारको लागि चितवन ल्याएको अर्ना मासिने अवस्थामा पुगेको छ ।
पाँच वर्ष अगाडि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलको पलहमा कोशीटप्पु वन्यजन्तु आरक्षण र सदर चिडियाखाना काठमाण्डौबाट ल्याएको १५ वटा अर्ना मध्य अहिले मरेर ३ वटामा सिमित भएको छ । चितवन ल्याएपछि वंश विस्तार गरेर ६ वटा पाडापाडी जन्मिसक्दा पनि चितवन राष्ट्रिय निकुञ्जको व्यवस्थापनमा कमजोरी भएपछि अर्नालाई बचााउन नसकिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले चितवन निकुञ्जले राम्रो संरक्षण गर्न नसक्दा अर्नाको संरक्षण हुन नसकेको बताउनुभयो । चितवन ल्याएको अर्नाले ६ वटा पाडापाडी जन्माएर विकास भैसक्दापनि त्यसलाई संरक्षण र रेखदेख गर्न नसक्दा मर्न गएको जानकारी दिनुभयो । अर्ना राखिएको स्थानमा मरेको हप्तौ हुदासम्म निकुञ्ज प्रशासनलाई जानकारी हुदैन त्यसैले अर्नाको उचित संरक्षण हुन सकेको छैन महानिर्देशक डा.कडेलले भन्नुभयो ।
विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो ।
कोशीटप्पुको जस्तो वासस्थान चितवनमा नभएको कारण बचाउनु मुस्किल भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो । ‘वलौटेमाटोमा वस्दै आएको अर्ना त्यही किसिमको वातावरण यहाँ नपाउदा वंश विस्तार गर्न समस्या भएको छ’ उहाले भन्नुभयो ‘हामीले कोशिस गरेका छौ तर सोचेअनुसारको विकास हुन सकेको छैन ।’ निकुञ्जका अनुसार साउनयता १० अर्ना मरेका छन् । तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए । विसं २०७४ को बाढीमा पाँच अर्ना मरेको थियो यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन् । अन्य अर्ना ल्याएको केही समयपछि मरेको थियो । खोरमा तीन वटा पोथी मात्र बाँकी छन् ।
विसं २०७५ को साउन ३१ गते पहिलो बच्चा जन्मिएको थियो । समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन । ५० सम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन् । निकुञ्जमा रहेको संख्या कम हुँदा छोड्नसक्ने अवस्था नरहेका कारण समस्या भएको सहायक संरक्षण अधिकृत घिमिरेले बताउनुभयो ।
सन् १९६१ ताका यहाँ अर्ना रहेको पाइएको छ । त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने निकुञ्जले जनाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठ उपयुक्त वासस्थानको कमी र पानीको कारण अर्ना भएको स्थानमा जान नसक्दापनि उनीहरुको हेरचाह गर्न नसकिएको बताउनुभयो । गएको वर्षामा धेरै पानी परेपछि त्यहाँ जान सकिएन मरेको कयौ हप्तापछि मात्र जानकारी पायौ उहाले भन्नुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले निकुञ्जमा राम्रोसंग हुर्केका अर्नालाई बचाउन सकिएको छैन अव फेरी कोशीबाट थप अर्ना ल्याउने तयारी छ । विगतमा भएका कमजोरीलाई हटाएर अर्नाको वंश विस्तार गर्नेछौ उहाले भन्नुभयो । उहाँको भनाइमा पाँच महिना मात्र राखेर बथान बनाएर छोड्न मिल्ने गरी अर्ना ल्याउनुपर्दछ ।
त्यसरी ल्याइएका अर्नालाई रेखदेखका लागि थप जनशक्ति परिचालन गरी पोसिलो खानाको व्यवस्था गरिने कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘छिट्टै अर्ना स्थानान्तरण गरेर वर्षात्सम्ममा खुल्ला ठाउँमा छाड्नसक्ने गरी कामका लागि प्रस्ताव गर्दैछौं । ’
एक ठाउँमा मात्र अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना रहेको छ । कंडेलले वथान वनाएर छोड्दा उनीहरुले चाहेको जस्तो बासस्थान पाउने भएकाले यसबाट बंश विस्तार गर्न सहज हुने जानकारी दिनुभयो । अब ल्याउदा दुई÷तीनवटा भाले ल्याउने र अन्य पोथी ल्याउने विभागको तयारी रहेको छ ।
अर्ना तीन÷चार वर्षको उमेरपछि प्रजननयोग्य हुने गर्दछ । अर्ना स्वच्छ पानी, दलदल र घाँसे मैदानमा रमाउने गर्दछ । अर्ना भैँसी प्रजातीको हुने हुनाले सोही अनुसारको ब्याउने चक्र हुनेगर्दछ ।


