कोरोनाको मारमा फेरी पनि हल सञ्चालक

काठमाडौँ ६ माघ । कोरोना संक्रमण दर बढेसँगै स्थानीय प्रशासनले ‘स्मार्ट लकडाउन’ लागु गरेको छ । आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधि आदेश जारी भएको हो, जसअनुसार कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ ।

कोरोना संक्रमण बढेको भन्दै सरकारले फेरि मन्त्रिपरिषदमार्फत माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको पहिलो र दोस्रो लहरपछि बिस्तारै तङ्ग्रिने अवस्थामा रहेको फिल्म क्षेत्र सरकारको यो निर्णयले फेरि थलिन पुगेको छ भने फिल्मकर्मीमा निराशा छाएको छ ।

रिलिज स्थगित

हालै प्रदर्शनमा आएका र मिति तोकेर प्रचार प्रसार थालेका फिल्म स्मार्ट लकडाउनका कारण मारमा परेका छन् । यही कारण कतिपय फिल्मको रिलिज स्थगित भएको छ ।
गत पुस ३० गतेबाट देशभर प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट–३’ को प्रदर्शन रोकिएको छ । माघ १५ सम्म हल बन्द गर्ने सरकारको निर्णयसँगै फिल्मको प्रदर्शन स्थगित भएको हो । फिल्म हल बन्द गर्दा आफ्नो फिल्मलाई धेरै नोक्सान भएको निर्देशक निकेस खड्काले बताए । ‘फिल्मले राम्रो समीक्षा र उल्लेख्य दर्शक पाइरहेको थियो । हल बन्द भयो,’ निर्देशक खड्काले भने, ‘फेरि हल खुल्ने बितिक्कै फिल्म लाग्छ ।’

फिल्मबाट निर्देशकको रुपमा उनले पनि राम्रो प्रतिक्रिया पाएका थिए । ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतको अभिनय छ ।

त्यस्तै, निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट ‘पोस्टपोन्ड’ गरेका छन् । कोरोना संक्रमण दर तीव्र भएसँगै सरकारले हल बन्द गरेकाले १९ माघमा प्रदर्शन हुने तय भएको फिल्मको रिलिज हाललाई स्थगित गरिएको उनले विज्ञप्तिमार्फत जनाएका छन् । फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।

त्यसो त केही दिन अगाडि ‘प्रेमगीत ३’ को रिलिज पनि स्थागित गरिएको थियो । कोरोना संक्रमण बढेसँगै फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । १३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसार समेत सुरु गरेको फिल्मको रिलिज स्थगितले आफूलाई थप आर्थिक भार पर्ने सेनको भनाइ छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरु, सुनिल थापा लगायतको मुख्य भूमिका छ ।

फिल्म रिलिजमात्र होइन, सुटिङ पनि स्थगित गरिएको छ । अनमोल केसीको अभिनय रहने फिल्म ‘एक्स ९’ को सुटिङ पनि स्मार्ट लकडाउनका कारण रोकिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले बताए । ‘कोरोनाको तेस्रो लहरका कारण फिल्मको छायांकन फेरि स¥यो,’ निर्देशक भट्टले भने, ‘कलाकारलाई यसको जानकारी गराएका छौं ।’

फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायतको अभिनय रहनेछ । बलिउड अभिनेता सुनिल सेट्टीको पनि यसमा अभिनय रहने चर्चा छ ।

शेयर गरौ

ताजा अपडेट