झापा, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीले डाक्टर गोविन्द केसीले जमिन टेक्नासाथ पवित्र हुन्छ भन्ने भ्रम त्याग्न अनुरोध गर्नु भएको छ ।
डा. केसीले इलाम पुगेर अनसन गरेकोमा आफूहरुको क्षेत्र पवित्र भएको भन्नेहरुप्रति लक्षित गर्दै नेता भट्टराईले भने, ‘कतिपय मान्छेलाई डा. केसी पाइला राख्ने बित्तिकै भूमि पवित्र हुन्छ भन्ने भ्रम छ, तर उहाँको पदचाप त्यति पवित्र छैन ।’
इलाम हुँदै आज झापा आइपुगेका नेता भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै केसीको ज्यान बचाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । डा. केसीको ९ औं दिनको १६ औं अनसन इलाममा चलिरहेका बेला नेता योगेश भट्टराईले सरकार डा. केसीको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताए ।
उनले संसदमा अहिलेसम्म सबैभन्दा बढी कसैको कुरा सुनिएको भए त्यो डा. केसीकै रहेको भन्दै उनलाई अराजकता चाहने समूह वा झुण्डले उचालेको आरोप लगाए ।
चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएको चिकित्सा विश्वविद्यालय डा. केसीकै माग गरेको तर अहिले आएर उनले आफूले भन्दै नभनेको कुरा विधेयकमा उल्लेख गरेको बताउन थालेको नेकपा नेता भट्टराईले दाबी गरे ।
उनले शिक्षण अस्पतालका सम्बन्धमा भने, ‘डा. केसीको मोडलमा जाने हो भने नेपालमा अझ १०–१५ वर्ष नयाँ मेडिकल कजेल खुल्दैनन् । कुनै एक व्यवासायीले सबै पूर्वाधार पूरा गरेर मेडिकल कलेज खोल्छु भन्यो भने हामीले किन रोक्ने ?’
उनले पूर्वी नेपालका धेरै नेपाली भारतको सिलिगुडीसहितका क्षेत्रमा गएर उपचार गराउन बाध्य रहेकाले त्यहाँका डाक्टर नेपालीको पैसाले धनी भएको बताए । यस्तोमा नेपालमै डाक्टरको उत्पादन र अस्पताल खुल्ने वातावरणको बाधक बन्नुको औचित्य त्यति नदेखिएको उनले बताएका छन् ।
यस्तै विधेयकको प्रस्तावनामा केदार भक्त माथेमाको नाम उल्लेख नगरेकामा पनि डा. केसीको आपत्ति छ । तर प्रस्तावना समग्रताको रुप भएकाले सबैको भावना समेटिएकाले नाम उल्लेख गर्नु नपर्ने नेता भट्टराईले बताए ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी प्रधानमन्त्री टेरिजा मे को उदाहरण दिँदै सरकारले गरेका कतिपय निर्णय संसदले उल्ट्याउन सक्ने नेता भट्टराईले बताए । तर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुने बताए ।