चितवनमा मनाईयो प्रजातन्त्र दिवस, कार्यक्रममा काँग्रेस अनुपस्थित

चितवन समाचार डटकम, ७ फागुन ।
६९ औं प्रजातन्त्र दिवसका अवसरमा भरतपुरमा आज प्रभातफेरी र अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधी, राजनीतिक पार्टीका नेताहरु, स्थानीय प्रहरी प्रशासनका प्रमुख, उद्योगी, ब्यवसायी, नागरिक समाज, सरकारी कर्मचारी लगायतको सहभागीता थियो । प्रहरीको ब्याण्डवाजाको टोली सहित चौविसकोठीवाट अस्पताल रोड हुदैं जिल्ला समन्वय समिति सम्म प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी लगत्तै जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम भयो । अन्तरक्रियामा सहभागी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रजातन्त्र प्राप्तिकालागी वीरयोद्धाहरुले पुर्याएको योगदान चीरस्मरणीय रहने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनीष्ट पार्टी चितवनका नेता तेजेन्द्रवहादुर खड्का, जिल्ला समन्वय समितिका उपसंयोजक मुना श्रेष्ठ लगायतले मन्तव्य राख्नुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान , चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी पनि अतिथी रहनुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका सभापति कृष्ण डल्लाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैविच प्रजातन्त्र दिवसका अवसरमा आयोजीत जिल्ला स्तरीय कार्यक्रममा आज नेपाली काँग्रेस अनुपस्थित भएको छ । प्रभात फेरी र अन्तरक्रिया दुवैमा पार्टीका तर्फवाट प्रतिनिधी देखिएन् । कार्यक्रममा सहभागी हुन सवै राजनितीक पार्टीलाई खवर गरेको कार्यक्रमका संयोजक एवम् जिसस का सभापति कृष्ण डल्लाकोटीले बताउनुभयो । “काँग्रेस पार्टीवाट कोही प्रतिनीधि आउनुभएको जानकारी भएन, किन नआउनु भएको त्यो पनि थाहा भएन ” डल्लाकोटीले भन्नुभयो । जिल्ला स्तरिय प्रजातन्त्र दिवसको कार्यक्रममा यतिका धेरैको उत्साहपूर्ण सहभागीता पहिलो पटक भएको उहाँको दावी छ । काँग्रेस पार्टीका प्रतिनिधी साथीहरु पनि आईदिनुभएको भए झनै राम्रो हुने थियो , डल्लाकोटीले भन्नुभयो ।
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहलाई पनि निमन्त्रणा गरिएको भएपनि उहाँ पनि अनुपस्थित हुनुभएको डल्लाकोटीले जानकारी दिनुभयो ।
यसैसन्दर्भमा प्रतिक्रिया माग्दा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज पार्टीको आन्तरिक कार्यक्रम परेकाले आफु उपस्थित हुन नसकेको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट