काठमाडौ १८ पुस । नेकपा माओवादी केन्द्रको समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।
समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुंगो लगाइनेछ र यसका लागि निर्वाचन नहुने एक नेताले जानकारी दिए । सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको ती नेताले बताए । प्रदेश(२ र वागमतीमा सहमतिको प्रयास भइरहेको छ ।
समानुपातिकतर्फ प्रदेश(१ बाट २१, प्रदेश(२ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।
सहमतिकै प्रयासमा बन्द सत्र स्थगित गरेर स्थायी कमिटी सदस्यहरुको बैठक पटक पटक बसेको छ । माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ । पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता गर्ने र सोमबार विहान ८ देखि मतदान हुनेछ ।