चितवन, ५ पुस । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको सेयर बजारका बिषयमा प्रचण्डले बुझ्दै नबुझी टिप्पणी गरेको बताउनुभएको छ । पुजी बजारमा देखा परेका जटिलता हल गर्न सरकार गम्भीर हुनुपर्नेमा जाेड दिदै पुर्वअर्थमन्त्री पाण्डेले विश्वबजारलाई र अर्थतन्त्रबारे बुझेर मात्रै नेताहरूले अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारकाे गैैरजिम्वेवार पनले अर्थतन्त्रका सबै इण्डिकेटर खराब रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले अर्थतन्त्र सम्हाल्न नसकेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “बैंक ब्याजदर बढेको तरलता अभाव भएको, पूँजीमा लागत बढेका कारण उद्योगधन्दा प्रभावित भएको, वैदेशिक मुद्राको संचित घट्दो क्रममा रहेको, आयात बढेर व्यापार घाटा चुलिएर गएको, भुक्तान सन्तुलन नकारात्मक बनेको छ ।” उहाँले पाँच महिनाको अवधिमा केवल ६ प्रतिशत मात्रै पूँजीगत खर्च भएको बताउँनुभयो । उहाँले भन्नुभयो “राजनीतिसँगै आर्थिक संकट निम्तिदै छ ।” सरकारले खराब ईण्डिकेटरलाई सम्बोधन गर्न नखोजेको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो “आम नेपालीले दुःख पाउने अवस्था सिर्जना हुँदैछ ।”
एमसिसिका बारेमा उहाँले बिना शर्त कुनै पनि सहायता नपाईने बताउनु भयो । उहाँले जुनसुकै देश वा दाताले दिने सहायतामा शर्तहरु हुने गरेको बताउँदै
पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले भन्नुभयो “सहायता र ऋणमा पनि शर्त हुन्छन् ।“ उहाँले भन्नुभयो “कतिपयले सहायतालाई नबुझेर टिकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिना शर्त आउँदैन ।” नेपालले भारतबाट १.७५ प्रतिशतमा ऋण लिंदा ८५ प्रतिशत कच्चा पदार्थ भारतको प्रयोग गर्नुपर्ने शर्त स्वीकार गरेर लिने गरेको उहाँले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “चिनिया सफ्ट लोन लिंदा पनि हामीले चिनिया बाहेक अरुले ठेक्का लिन नपाउने शर्तमा ऋण लिएका छौं ।” चीन सरकारसँग १.७५ प्रतिशतमै शर्त सहित ऋण लिएको उहाँले बताउनुभयो । एमसिसिमा पनि शर्तहरु रहेको भन्दै उहाँले ती शर्तहरु देशको हितमा छ भने मान्य पर्ने र हितमा छैनन् भने मान्न नहुने बताउनुभयो ।


