काठमाडौं २८ मंसिर । कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।
आफूलाई भेट्न आएका देउवासँग सिंहले सहयोग गर्ने सहमती दिएका हुन् । दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका हुन् । दुई नेताबीच वार्तापछि दोस्रोचरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।
भेटमा देउवाले आफ्नो कमजवोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।
पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’ उनले भने, ‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’


