एमाले महाधिवेशन : तीन पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचन

सौराहा १३ मङ्सिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा निर्वाचन हुने भएको छ ।
सात प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुकालागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा आइतबार राति प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि सोमबार राति निर्वाचन हुने भएको हो । शनिबारदेखि सहमतीको प्रयास गरेपनि सफल हुन सकेको थिएन । आइतबार राति अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य र सोमबार विहान ३ बजे पदाधिकारीको नाम सर्वसम्मतको लागि घोषणा गरेपनि उमेद्वारी परेको छ ।

एक अध्यक्षमा दुइजनाको उमेदवारी परेको छ । अध्यक्ष केपी शर्मा ओली र भीम रावलको उमेद्वारी परेको हो । रावलले आफूलाई मत दिनको लागि प्रतिनिधिहरुसंग मत माग्दै हिड्नु भएको छ । त्यस्तै गरी ६ उपाध्यक्षमा ७ जनाको उमेद्वारी परेको छ । ओलीले घोषणा गर्नु भएको भन्दा बाहेक धनश्याम भुसालले उपाध्यक्षमा उमेद्वारी हालेपछि यस पदमा मतदान हुदैछ । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ । उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा भएको थियो ।

यस्तै सचिवमा पनि चुनाव हुने भएको छ । एमालेमा सात जना सचिव रहने छन् । ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाउने सूचि तयार पार्नु भएको थियो । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ । निर्वाचन स्थलमा उपाध्यक्ष पदका उमेद्वार घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सचिवका उमेदवार, केन्द्रीय सदस्यका उमेद्वारहरु मत माग्दै हिड्नु भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ । मतदाताले प्रचारप्रसार गर्दा निर्वाचन सामाग्री ठूलो प्रदर्शन गर्न पाइने छैन भने समूहगत छलफल पनि गर्न पाइने छैन । आचारसंहिता विपरीत काम भएमा आयोगले उम्मेदवारी वदर गर्नसक्ने जनाएको छ । एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ ।

निर्वाचन आयोगले विहान ९ बजेबाट उमेदवारी दर्ता र १० बजे नामावली प्रकाशन गर्ने सूचना थियो । तर दिउसो अवेर मात्र पहिलो नामावाली प्रकाशन गरेको थियो । केन्द्रीय सदस्यहरुमा नाम फिर्ता हुने क्रम रहेकाले निर्वाचन तालिकापछि सरेको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनु भयो । आफ्नो नाम फिर्ता लिन चाहनेहरुको लागि समय थप गरिराखेका छौ राति ९ बजे भनेकोमा यो समय थपेर ११ बजेलाई पु¥याएको छ ।

अन्तिम नामावली प्रकाशन भएपछि दुइ घण्टा विद्युतीय मेसिनमा सेट गर्न लाग्ने छ । मतदाताले मत हाल्नको लागि कम्तीमा एक जनालाई बीस मिनेट लाग्दछ सुव्वाले भन्नु भयो । मतदान प्रकृया कम्तीमा तीन घण्टा भन्दा लामो समय चल्न सक्ने छ । यसको परिणाम आउन मंगलबार विहान लाग्ने जानकारी दिनु भयो ।

कहाँकहाँ उमेद्वारी परेको छ
गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिएका छन् । ओलीले प्रस्ताव गरेको सूचीमा अइन्द्रविसुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थपित, खगेन्द्र राई, गोकुल घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी, डम्बरसिंह सम्बाहम्फे, अजय क्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ, पासाङ शेर्पा, लिलबहादुर थापा मगर, विद्यासुन्दर शाक्य, सीपी घर्ती मगर, हरिबहादुर राजवंशी र हरिबहादुर राईको नाम छ । सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले बागी उम्मेदवारी दिनु भएको छ ।

मधेशीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएकाबाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिनु भएको छ । दलितमा ८ जना प्रस्ताव भएकोमा नरबहादुर विक र अनुभूति वम नेपालीले बागी दिनु भएको छ । थारुमा पनि जयप्रकाश थारुले बागी उम्मेदवारी दिनु भएको छ । मुस्लिममा नजिर मियाले दिनु भएको छ । पिछडिएको क्षेत्रबाट भरत राउद र लालवहादुर रावलले बागी उम्मेदवारी दिनु भएको छ ।

खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर,नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिनु भएको छ । खुल्ला महिलामा ५३ जना हलमा प्रस्तावितबाहेक अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले उम्मेदवारी मनोनयन गर्नु भएको छ ।

प्रदेशतर्फका बागी
प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतवार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति)ले उम्मेदवारी मनोयन गर्नु भएको छ । प्रदेश १ बाट हलमा प्रस्ताव भएका नाम किशोरकुमार अधिकारी, टंक आङ्बुहाङ, तिलकुमाार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भाष्कर काफ्ले हुन् ।

त्यस्तै प्रदेश १ को खुल्लामा ६ जनाको मात्र उम्मेदवारी परेको छ भने वागमतीबाट हलमा प्रस्तावित बाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना मगर, सरेश नेपालको नाम प्रस्ताव गर्नु भएको थियो । गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरुले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिनु भएको छ ।

सुदूरपश्चिमबाट हलमा प्रस्ताव गरिएका नाममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनी राना ,भैरवबहादुर सिंह र लीलाधर भट्ट छन् । कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले प्रस्ताव गर्नु भएको नाम भने गुलावजंग शाह, धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, निरज आचार्य र विष्णु रिजाल हो । त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिनु भएको छ ।

निविरोध निर्वाचित
निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल हुनुहुन्छ ।

 

 

शेयर गरौ

ताजा अपडेट