काठमाडौँ, ११ मङ्सिर ।
बालिका गिरी नेकपा (एमाले) भित्रका संघर्षशील नारी पात्रमध्ये एक हुनुहुन्छ । पञ्चायती शासन व्यवस्थाका कठोर दिनमा स्कुले जीवनदेखि राजनीतिमा होमिएर उहाँले लामो समय पार्टीको संगठन निर्माणमा बिताउनुभयो । अनेरास्ववियूबाट राजनीतिक यात्रा शुरु गर्नुभएकी गिरीले तत्कालीन नेकपा माले हुँदै एमाले, अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी, पार्टीको जिल्ला सम्पर्क मञ्च, अञ्चल सम्पर्क मञ्च, केन्द्रीय सम्पर्क विभाग, केन्द्रीय संघीय मामिला विभागमा रहेर चार दशकभन्दा लामो समय सांगठनिक काममा आफ्नो उर्जाशील समय व्यतित गर्नुभयो ।
यतिबेला एमालेको दशौँ महाधिवेशनमा उहाँले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ‘मेरो उर्जाशील समय पार्टी काममा लगाएँ, यसपटक दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छु’ उहाँले भन्नुभयो ।
लामो समयको राजनीतिक जीवनको अनुभवलाई पार्टी संगठन निर्माण तथा सुदृढीकरणमा थप क्रियाशिल गराउने तथा पार्टीलाई अझै सशक्त बनाएर नेपाली जनताको आशा र भरोसाको पार्टीको रुपमा एमालेको छवीलाई अझै उचो बनाउने उद्धेश्यले आफुले दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । देशमा व्यावसायिक कृषि क्रान्तिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन सकिने आफ्नो दृष्टिकोण र अभियान रहेको पनि उहाँले बताउनुभएको छ ।
विद्यालय समयमा अनेरास्ववियूमा आवद्ध हुनुभएकी उहाँ २०३८ सालमा १४ वर्षकै उमेरमा चितवनको तत्कालीन जगतपुर गाउँ कमिटीको अनेमसंघको सचिव भएर संगठन निर्माण र महिलाहरुको सशक्तिकरणमा लाग्नुभएको थियो । गाउँगाउँमा सामन्तीहरुको जगजगी भएको त्यस समयमा सोझासिधा गाउँलेहरुको पक्षमा उहाँ जस्तोसुकै परिस्थितिको पनि डटेर सामना गर्ने भएकोले अझै पनि त्यस क्षेत्रमा जुझारु महिलाको रुपमा चिनिनुहुन्छ । सोही पृष्ठभूमिबाट उहाँको संघर्षशील राजनीतिक यात्रा शुरु भएको थियो । ‘तत्कालीन निरङ्कुश पञ्चायती शासन कालमा विद्यार्थीहरुमाथि दमन, धरपकड, शासकहरुको अन्याय अत्याचार, गाउँमा सामन्तीहरुको दबदबा थियो । त्यसको प्रतिवाद गर्दैगर्दा भूमिगत राजनीतिक नेताहरुसँग सम्पर्कमा पुगेँ र परिवर्तनका उहाँहरुका कुरा मन परेकोले राजनीतिमा होमिएँ’ उहाँ सम्झनुहुन्छ ।
२०३५÷२०३६ सालको विद्यार्थी आन्दोलनमा होमिदै पार्टीमा लागेर काम गर्नुभएकी बालिका गिरी २०४३ सालमा अनेरास्ववियू चितवनको जिल्ला कमिटी सदस्य चयन हुनुभयो । २०४६ देखि २०४९सम्म अनेमसंघ काठमाडौँ जिल्ला कमिटी सदस्य भएर तत्कालीन उत्तर इलाका कमिटीको जिम्मेवारी सम्हाल्नुभयो ।
उहाँ २०५४सालदेखि दुई कार्यकालसम्म नेकपा (एमाले) काठमाडौँ–चितवन सम्पर्क मञ्चको अध्यक्ष भएर चितवनबाट काठमाडौँ आई विभिन्न पेशा व्यवसायमा संलग्न पार्टी सदस्य, शुभेच्छुकहरुलाई पार्टीसँग जोड्ने, उनीहरुका समस्यामा साथ दिने तथा जिल्ला पार्टीसँग समन्वय गर्ने काममा खट्नुभयो । त्यसअघि उहाँ २०५१ सालमा मञ्चको उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।
चितवन काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षको जिम्मेवारी हस्तान्तरणपछि गिरी नारायणी अञ्चल सम्पर्क मञ्चको अध्यक्ष र त्यसपछि पार्टीको केन्द्रीय सम्पर्क मञ्चको सदस्य बन्नुभयो । आठौँ महाधिवेशनसम्म नारायणी अञ्चल सम्पर्क मञ्चको इन्चार्ज रहनुभएकी उहाँ अञ्चल सम्पर्क मञ्चबाटै आठौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर महाधिवेशनको सचिवालय व्यवस्थापनमासमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
आठौँ महाधिवेशनपछि एमालेले उहाँलाई पार्टीको केन्द्रीय संघीय मामिला विभाग सदस्य बनायो । त्यस बेला विभागले नेपालमा संघीयता सम्बन्धी तयार गरेको खाकाकै सेरोफेरोमा देशमा संघीयताको नक्सा कोरिएकोमा उहाँलाई गर्व महशुुस हुन्छ ।
हाल अनेमसंघको केन्द्रीय सदस्य रहनुभएकी गिरी संगठनको कला, साहित्य विभागको उपप्रमुखसमेत रहनुभएको छ । साहित्यिक क्षेत्रमासमेत स्थापित हस्तीका रुपमा परिचय बनाउन सफल बालिका गिरी बहुमुखी प्रतिभाकी धनी हुनुहुन्छ । उहाँले केही वर्ष अध्यापनसमेत गर्नुभएको थियो । २५ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको दोभान साहित्यिक पत्रिकाको सम्पादक÷प्रकाशकसमेत रहनुभएकी गिरी नेपाल साहित्यिक पत्रकार संघको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । साहित्यिक क्षेत्रमा उहाँको समर्पणको सम्मान गर्दै भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिबाट भानुभक्त स्वर्ण पदक, विश्व नारी नेपाली साहित्य सम्मेलन आयोजक समितिबाट विश्व नारी नेपाली साहित्य पदक, सत्यमोहन जोशी शताब्दी पदक २०७३, डा. हर्षबहादुर साहित्यिक पत्रकारिता सम्मान २०७६लगायत दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ ।
कलेज पढ्दै गर्दा २०४४ सालमा उहाँले अर्धभूमिगत अवस्थामा पार्टीको काम अगाडि बढाइरहनुभएको थियो । सोही समय पार्टीकै प्रस्तावमा पार्टीका नेता युवराज कार्कीसँग उहाँको विवाह भयो । पार्टीकै आयोजनामा भूमिगत अवस्थामा विवाह भएको उहाँले बताउनुभयो । ‘आफ्नो जीवन पार्टी र जनताको मुक्तिका लागि समर्पण गरिसकेका थियौँ, पार्टीकै प्रस्तावमा पार्टी नेताहरुको उपस्थितिमा जनवादी विवाह गरियो’ ती दिन सम्झिदै उहाँले भन्नुभयो ।
विवाहपछि काठमाडौँ आएर राजनीतिक यात्रा अगाडि बढाउनुभएकी उहाँले त्यससमय निकै दुःख भोग्नुपरेको सम्झनुभयो । ‘त्यो समय मेरो लागि काठमाडौँ नितान्त नौलो भूगोल थियो, त्यसमाथि अर्धभूमिगत बस्नुपर्ने । अर्कोतर्फ श्रीमानलाई भेटे टाउकोमा गोली ठोक्नु भन्ने पञ्चायती शासकको निर्देशन थियो । कम्ती संघर्षपूर्ण थिएनन् ती दिन’ गिरीले कुनै चलचित्रको कथा जस्तो विगत स्मरण गर्नुभयो ।
परिवर्तनका लागि आर्थिक क्रान्ति आवश्यक हुन्छ र पार्टीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउन कृषि क्रान्ति अत्यावश्यक छ भन्ने ठानी २०७३ सालदेखि उहाँ व्यावसायिक कृषि कर्ममा समेत संलग्न हुनुहुन्छ । ‘राजनीति गर्ने मान्छे आफैले अबको पुस्तालाई बाटो देखाउनुपर्छ भनेर साथीहरुको टीम बनाएर कृषिकर्म शुरु गरेका हौँ’ उहाँले फराकिलो दृष्टिकोण राख्नुभयो । उहाँको टीम चितवनमा माछा पालन र तरकारी खेतीमा संलग्न छ । जहाँ धेरै स्थानीयले प्रत्यक्षरुपमा रोजगारीसमेत पाएका छन् ।
राजनीतिमा युवा पुस्ताको आकर्षणले आफुलाई खुसी बनाउने गरेको उहाँको भनाई छ । नेकपा (एमाले)प्रति युवा पुस्ताको आकर्षण र भरोसाले एमालेको मात्रै होइन एमालेको नेतृत्वमा देशको भविष्यनै सुन्दर बन्नेमा उहाँको अटल विश्वास छ । राजनीति पहिले गाह्रो कि अहिले ? गिरीले भन्नुभयो— ‘देश र जनताको भविष्य निर्माण गर्ने विषय भएकोले राजनीति सधैँ अप्ठेरो क्षेत्र हो । परिस्थितिअनुसार यसका चुनौती थपिने र फेरिने मात्रै हुन् । उच्च नैतिकता, समर्पण र ‘भिजन’ यसको मूल मन्त्र हो ।’
कुराकानीको बिट मार्दै उहाँले भन्नुभयो— ‘हामीसँग हिजोको अनुभवसहितको भिजन छ, युवा पुस्तासँग त्यसलाई परिस्कृत गर्ने खुबी र उर्जा छ, साथै उनीहरु नयाँ विश्व परिवेशअनुरुपको भिजन निर्माण गर्नसमेत सक्छन् । यो दुइवटै दक्षतालाई मिलाएर नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’


