नेकपा (एस) जबजका विचारसँगै समाजवाद र समृद्धिको यात्रामा अघि बढ्ने

 

काठमाडौं, ६ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)का सारभूत विचारहरुलाई अवलम्बन गर्दै समाजवाद र समृद्धिको यात्रामा अघि बढ्ने अठोट पार्टीले गरेको बताएका छन् ।

काठमाडौं नयाँ बानेश्वरमा आज ९बुधबार० दोस्रो दिन बसेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले जबजका सारभूत विचारहरुलाई अवलम्बन गरेर समाजवाद र समृद्धिको यात्रामा अघि बढ्ने निष्कर्ष आफूहरुको रहेको जानकारी दिएका हुन् ।

‘जबजका सारभूत विचारहरुलाई पक्रिँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौं’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै भने, ‘यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।’ जबज पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा देखा परेको सिर्जनात्मक अध्याय भएको जिकिर गर्दै नेपालले बैठकमा जबजलाई थप विकसित गर्दै लगिने धारणा राखेको पनि उनले बताए ।

‘आजभन्दा अगाडि नेकपा एमालेले जबजलाई कुरुप गर्दै गएको थियो । यसलाई विद्रुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने, जनताको बहुदलीय जनवादलाई वेद पुराण जस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो’, खतिवडाले भने, ‘जवजलाई यति विकृत बनाइएको थियो कि जबजको आदर्श भनेकै आजका व्यवहारहरु नै यदि जबजका आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्‍याउन लागिएको थियो । हामी यसबाट मुक्त हुन चाहन्छौं ।’

बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको पनि उनले जानकारी दिएका छन् । मंगलबारदेखि शुरु बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि छलफलका लागि पाँच समूह बनाइएको थियो । समूह छलफलको नेतृत्व समूह–१ बाट रामकुमारी झाँक्री, समूह–२ बाट रामचन्द्र साह, समूह–३ बाट रमा आले, समूह–४ बाट श्रीप्रसाद साह र समूह–५ बाट दिनेश राईले गरेका थिए ।

समूह नेताहरुले दिएका महत्वपूर्ण सुझावहरुलाई केन्द्रीय कमिटी बैठकले ग्रहण गर्दै सुझावसहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने गरी पारित गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

महासचिवको टुङ्गो भोलि लगाइने
नेकपा ९एकीकृत समाजवादी० का महासचिवको टुङ्गोे भोलि ९बिहीबार० लगाउने भएको छ । भोलि पुनः बस्ने केन्द्रीय कमिटीको बैठकमा महासचिव चयन गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आज नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बसेको बैठकमा महासचिव चयनलगायत विषयमा छलफल भएको हो । बैठकबाट राजनीतिक प्रतिवेदन पारित गरिएको छ । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाएर छलफल गरिएको थियो । केन्द्रीय कमिटी सदस्यहरूले विभिन्न सुझावहरू दिएका थिए । भोलि बिहान ११ बजे अर्पण ब्यांक्वेटमै केन्द्रीय कमिटीको बैठक बस्ने खतिवडाले जानकारी दिए । बैठकमा केन्द्रीय कमिटी विस्तार, नेताहरूको जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

शेयर गरौ

ताजा अपडेट