माधव नेपाल होम सिक भएर फर्कनु हुन्छ : भट्टराई

कास्की, १ असोज । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गरेर जानेहरु फेरि एमालेमै फर्किने दावी गरेका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरूको मनमा एमाले नै रहेकाले मुल पार्टीमा फर्किने दाबी गरे ।

‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होम सिक जस्तै एमाले सिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराई भन्छन्, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उनले सुनाए । ‘जे कोशिस ग¥यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ उनले भने, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उनले भने, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’

भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने दावी गरे । ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन। किनकी उसले कुनै विकल्प दिन सक्दैन,’ उनी भन्छन्, ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ । राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ।’

विभाजनमा लागेका नेता कार्यकर्ताहरूलाई मुल घरमै फर्किन उनको आग्रह छ । सरकारका कारण बजेट होल्ड भएको र यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको उनको तर्क छ । २ महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसक्नु अहिलेको गठबन्धनको असक्षम कदम भएको भट्टराईको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट