कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउदै

काठमाडौं, ६ भदौं । सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउने जिम्मेवारी पाएको कार्यदलले आज (आइतबार) सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानको खाका तयार पारेर कार्यदलले आज (आइतबार) अपरान्ह प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको हो । विवाद समाधानको खाकालाई अन्तिम रुप दिएर आज दिउँसो सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिएका छन् ।

‘अधिकांश ठाउँमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद हामीले पहिले नै समाधान गरिसकेको थियौं । बाँकी रहेका केही ठाउँकोे विवाद मिलाएर हामीले आज प्रतिवेदन बुझाउन लागेका छौं,’ उनले भने । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा थप निर्णय पदाधिकारी बैठकले गर्ने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यदललाई भदौ ३ भित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो । यसअघि लेखकको संयोजकत्वमा गठित क्रियाशील सदस्यता विवाद समाधान समितिले गत साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो ।

क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन मंसिरका लागि तय गरेको छ । गत साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडाहरूको अधिवेशन सुरु गरेर मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट