काठमाडौं, २ भदौं । नेकपा एमाले विभाजनपछि निर्वाचन आयोगमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेतासहित ९५ केन्द्रीय सदस्य रहेका छन् । एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
विवाद भएकाले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकाले सो चिन्ह पनि हुनसक्ने पाण्डेले जानकारी दिएका छन् । दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने उनको भनाई छ ।
एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत पाण्डेले आग्रह गरेका छन् । नेता पाण्डेले संसद् र संविधानको रक्षाका लागि पटक–पटक गरिएको प्रयत्न सम्भव नभएपछि नयाँ दल दर्ता गरिएको बताए ।
‘संसद र संविधान रक्षाका लागि पटक–पटक प्रयत्न गरियो’, उनले भने, ‘तर, सम्भव नभएपछि नयाँ दल दर्ता गरेका हौं ।’ ‘ओली नेतृत्वको एमालेमा अलमलिएर रहेका साथीहरुलाई एमाले समाजवादीमा आउन आह्वान गर्दछौं’, नेता पाण्डेले भने, ‘त्यहाँ रहेकासँग शत्रुता गर्दैनौं ।’ उनले ओली नेतृत्वमा रहिरहँदासम्म एमालेसँगको सम्भावना नरहेको पनि बताए ।