काठमाडौं, २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई नै जोड दिने निष्कर्ष निकालेको छ । बिहीबारबाट शुरु भएर आज सकिएको बैठकले पार्टी एकताका लागि थप आधार खोजेर त्यसैमा जोड दिने निष्कर्ष निकालेको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असार २७ मा कार्यदलले गरेको १० बुँदे सहमतिकै आधारमा एकता टुंग्याउने निर्णय लिएको हो । ‘पार्टी एकताका लागि १० बुँदे सहमति भइसकेको छ । तर पार्टीका वरिष्ठ नेता र अन्यमाथि अनेक प्रकारका टिप्पणी र लाञ्छना लगाउने काम भइरहेका छन्, ती कुरा रोकिनु पर्छ’, पन्तले भने, ‘आफ्ना विचार व्यक्त गर्दा पार्टीका सबै नेताहरु जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ ।’
बैठकले पार्टीका अन्य निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । नेता पन्तले सरकारमा जाने विषयमा बैठकमा कुनै छलफल नभएको बताएका छन् । आफूहरू प्रतिपक्षमा रहेकाले सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले दोहोर्याएका छन् । बैठकले केपी शर्मा ओली पक्षले सदस्यता नवीकरणलगायतका सम्पूर्ण गतिविधि रोकिनु पर्ने पनि माग गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू एकताको पक्षमा रहेको बताएका थिए । ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म पार्टी एताको पक्षमा छु’, नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने ।