काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।
संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो । राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेको थियो ।
राष्ट्रिय सभाको अधिवेशन असार १७ गते शुरु भएको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सर्वोच्च अदालतले प्रतिनिसभा पुनर्स्थापना गर्दै मंगलबार अपरान्ह ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको कार्यालयलाई परामादेश जारी गरेको केहीबेरमै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन् ।