चितवन समाचार डटकम
५ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने चितवनको भोलीका कार्यक्रमहरुमा उहा नआउने हुनु भएको छ ।
पार्टी संगठनको कामलाई पूर्णता दिनको लागि सचिवालय वैठक बस्ने भएपछि अध्यक्ष प्रचण्डको चितवनको कार्यक्रम रद्ध भएको हो । पार्टीको तल्लो तहसम्मको एकताको कार्य नसिकिएकाले सोही कामको लागि सचिवालयको वैठक वस्ने भएपछि जिल्लाका कार्यक्रममा नआउने भएको नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण दाहालले जानकारी दिनु भयो ।
‘पार्टीको एकताको प्रकृया सकिएको छैन, तल्लो तहसम्मको एकताको काम बाँकी रहदा अन्यौलको अवस्था आएको छ’ उहाले भन्नु भयो ‘एकताको सवैकाम नसकिदासम्म औपचारिक कार्यक्रममा नजाने तय भएको छ ।’ भोली वस्ने सचिवालयको वैठकले धेरै कुराको टुंगो लगाउने अध्यक्ष दाहालले जानकारी दिनु भयो ।
भोलीदेखि प्रदेश ३ मा शुरु हुने प्रदेश स्तरीय खेलकुद कार्यक्रमको उद्घाटनको लागि पार्टी अध्यक्ष प्रचण्ड चितवन आउने तयारी थियो । भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा खेलकुद आयोजना हुदैछ । कार्यक्रमलाई भव्य रुपमा सञ्चालन गर्ने तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताउनु भयो । अध्यक्षको कार्यव्यस्तताले नआउने भएपनि प्रदेशका मन्त्रीबाट कार्यक्रम उद्घाटन गर्ने तयारी भएको उहाले जानकारी दिनु भयो ।