चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनले जिल्लामा पछिल्लोपटक भएको हत्या र बेपत्ता घटनाका सम्वन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाले जारी गर्नुभएको संयुक्त प्रेस विज्ञप्तिमा राप्ति–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरण र गैँडाकोटकी २१ वर्षकी विना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको हाे ।
विज्ञप्तिमा बेपत्ता भएको नौ दिनपछि शव फेला परेको सुजिता मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान जारी राखेको र भिसेरा परीक्षणको क्रममा रहेको अवगत गराउँदै केही दिनमा यसको तथ्य बाहिर आउने भएकाले सो विषयलाई लिएर घटनालाई अतिरञ्जित गर्ने, समाजमा अस्थिरता फैलाउने र परिवार, आफन्त र स्थानीयलाई भड्काउने कार्य भइरहेको भन्दै सबैलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
विज्ञप्तिमा घटनालाई स्वतन्त्ररुपमा अनुसन्धान गर्न सबैले सहयोग गर्न आवश्यक रहेको जनाइएको छ । साथै, सो घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन तथा अनुसन्धानले दोषी प्रमाणित भएको अवस्थामा अपराधीलाई कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्नसमेत जोडदार माग गरिएको छ ।
सोही घटनालाई लिएर प्रहरी प्रशासनबाट कफ्र्युको नाममा जनतालाई आतंकित बनाउने कार्यलाई रोक्न र जनसमुदायलाई पनि संयमता अपनाउन पनि अपिल गरिएको छ ।
यसैगरी, विज्ञप्तिमा गैँडाकोटबाट हराएकी किशोरी विना सापकोटाको पनि यथाशीघ्र खोजबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ ।
यस्तै, अविरल वर्षाका कारण माडीमा दर्जनौँ घर डुबानमा परेकाले पीडित परिवारको उद्धारमा जुट्न पार्टीसम्बद्ध युवा, विद्यार्थी, पार्टी सदस्य एवम् आमजनसमुदायमा हार्दिक अपिल गर्दै पीडितहरुलाई उचित व्यवस्थापन गरी राहत प्रदान गर्न पनि सम्बन्धित निकायसँग अनुरोध गरिएको छ ।