काठमाडौं, १९ असार । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद झन गहिरिंदै गएका बेला दोस्रो तहका नेताहरु आज (शनिबार) निर्णायक छलफलमा जुटेका छन् ।
सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल सहमत भइनसकेको जनाइएको छ । वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव भुसाल नेपाल निवास कोटेश्वर पुगेका छन् । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने दोस्रो तहका नेताहरुले जानकारी दिएका छन् ।
सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी छन् ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म संसद् विघटनविरुद्ध दायर मुद्दाबाट हस्ताक्षर फिर्ता नलिए एकता नहुने चेतावनी दिए पनि दोस्रो तहका नेताहरुले भने संवाद तोडेका छैनन् । शनिबार दिउँसो ३ बजे अध्यक्ष ओलीले बालुवाटारमा बैठक बोलाएका छन् ।
शुक्रबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकलाई शनिबार पनि निरन्तरता दिइएको छ । तर यो वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने अनुपस्थित छन् । आजको वैठकमा पनि नेपाल पक्षबाट सहभागिता रहन्छ–रहदैन टुङ्गो छैन ।