विपक्षी गठबन्धन सडक संघर्षमा

काठमाडौ १० असार । विपक्षी गठबन्धनले सडक–संघर्षको नीति लिएको छ । जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा भएको भन्दै गठबन्धनले सडक–संघर्षमा जाने निर्णय लिएको हो ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले राष्ट्रपति र सरकारका असंवैधानिक कार्यविरुद्ध कानुनी र राजनीतिक संघर्षलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको नेताहरूले बताएका छन् ।

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्न र संविधानको धारा ७६ (५)बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गरेका थिए । सो मुद्दामा बुधबारदेखि बहस सुरु भएको छ । बहस सुरु भएकै दिन गठबन्धनले सडक–संघर्षमा जाने निर्णय लिएको हो ।

अदालतमा बलियो कानुनी प्रतिरोध गर्ने र कोभिड– १९ को महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्डभित्र रहेर सडकबाट समेत प्रतिरोध गर्ने निर्णय भएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । ‘अदालतका कैयौँ फैसला सकारात्मक छन्, अदालतले कानुन र संविधानको पक्षमा फैसला गरेको छ । हामीलाई अदालतप्रति विश्वास छ । तैपनि हामीले कानुनी र राजनीतिक संघर्षलाई साथै अगाडि बढाउने निर्णय गरेका छौँ,’ उनले भने, ‘सर्वोच्चले जनताको आवाज के छ भनेर पनि सुन्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’

शेयर गरौ

ताजा अपडेट