गण्डकीमा बाढिको बितण्डा

काठमाडौ २ असार । गण्डकी प्रदेशमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएको छ ।

बाढीले हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ ।

सोमबारदेखि अविरल रुपमा परेको बर्षापछि आएको बाढीले करिब ५० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले जानकारी दिए । उनले हाइड्रो पावरमा प्रयोग हुँदै आएका सानादेखि ठुला मेसिनरी औजारदेखि ठुलो परिणामका रड सिमेन्ट, गिट्टी, वालुवा र क्रसर समेत बाढीले बगाएको बताए ।

त्यसैगरी वर्षाका कारण पोखरा ९ नयाँबजार शिद्धमार्गदेखि सेती नदी जाने बाटो भत्कँदा वरपरका घरहरु जोखिममा परेका छन् । अविरल बर्षासंगै पोखरा रामघाटस्थित सेती नदीमा आएको पानीको बहाव बढेपछि नदी थुनिएर ताल बनेको छ । सेती नदी थुनिएर ताल बनेपछि पोखरेलीहरु त्रसित भएका छन ।
त्यसै पोखरा महानगरपालिका ६ मा वर्षाका कारण नहरमा आएको बाढी थुनिँदा तीन घरमा क्षति पुगेको छ । बैदाममा वसन्त बैठक नहर मार्गमा सिञ्चाईको नहर थुनिँदा ३ घरमा क्षति पुगेको छ । बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा घरमा क्षति पुगेको हो ।

कास्की अन्नपूर्ण गाँउपालिका–६ हाईजुङ स्थित टंक बहादुर पुनको घर अगाडी पहिरो जाँदा घरको छानोमा हाईटेसन लाईनको तारमा छोइएको छ । त्यसैगरी सोही ठाँउमा बिजुलीको पोल ढलेको छ भने नयाँपुल र घान्द्रुक जाने लाईन पुर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोले श्री ज्ञानोदय आधारभूत प्राथमिक विद्यालयको भवन र त्यसै ठाउँका धनबहादुर नेपालीको घर समेत जोखिममा परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट