सुदेश खनाल
चितवन, ११ जेठ । चितवनमा क्रियाशिल पाँच राजनीतिक दलहरुले अस्पतालमा देखिएका अक्सिजनलगायतका स्वास्थ्य समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
मंगलबार नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’, नेकपा (एमाले)का अध्यक्ष तेजेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले संयुक्त विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनजिविका लगायतका तीन बुँदे विषयहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पाँच दलको यस्तो छ मागः
१. नेपाल सरकारद्धारा गरिएका कोभिड–१९ को निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन गरियोस् । साथै अस्पतालहरुमा देखिएको अक्सिजन, खोप, लगायत, स्वास्थ्य सामग्रीको यथोचित व्यवस्था गरियोस् ।
२. बन्दाबन्दीको कारण प्रभावित मजदुर, किसान, सुकुम्बासी जनताको जिवन निर्वाहका निम्ति तुरुन्त राहतको व्यवस्था गरियोस् ।
३. स्थानीय कृषि उत्पादन तरकारी तथा खाद्य उत्पादनको विक्री वितरण व्यवस्था मिलाइयोस्, साथै महंगी र कालोबजारी नियन्त्रण गरियोस् ।
यस्तै पाँच दलले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई स्वंमसेवी भूमिकामा सक्रिय भूमिका निर्वाह गर्न आफ्ना पार्टी कमिटी, भातृ जनवर्गीय संगठन र शुभेच्छुकहरुमा आह्वान समेत गरेको छ ।
यस्तै पाँच दलले ओली नेतृत्वको सरकारले संविधान र शासन प्रणाली माथि नै गम्भीर प्रहार गर्ने काम गरेको आरोप समेत लगाएको छ । विज्ञप्तीमा भनिएको छ–‘काम चलाउ हैसियतका प्रधानमन्त्रीले जनप्रतिनिधि मुलक संस्था विघटन गरी मुलुसको संविधान र शासन प्रणाली माथि नै गम्भीर प्रहार गर्ने यस किसिमको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन, पटक–पटक संविधानलाई क्षतविक्षत बनाएको छ, । तसर्थ प्रधानमन्त्री र स्वंम राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित भएको छ ।’
पाँच दलले संविधानको मुल मर्म विपरीत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको घटनाले गम्भिर ध्यानाकर्षण समेत भएको जनाएको छ । यस्तै पाँच दलले संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कमद सच्याउँदै देशलाई संविधानबाद र लोकतान्त्रिक दिसामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण चितवनबासीमा अपिल गरेको छ । 


