सगरमाथा आरोहण बिहानैदेखि शुरु, ३० बढी आरोही शिखरमा

काठमाडौं, ९ जेठ । अरब सागरमा विकसित ‘ताउते’ चक्रवातको प्रभावका कारण बिग्रिएको मौसमका कारण नेपालमा रोकिएको हिमाल आरोहण आज (आइतबार) विहानैबाट शुरु भएको छ । मौसम अनुकूल भएसँगै अहिले सगरमाथा आरोहण भइरहेको छ । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको हो ।

वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि शुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिएकी छिन् ।

उनले भनिन्, ‘अहिलेसम्म ३० जनाभन्दा धेरै आरोही शिखरमा पुगेको खबर प्राप्त भएको छ, अहिले आरोहण चलिरहेको छ, दिउँसोसम्म आरोहीहरु शिखरमा पुग्नु हुन्छ ।’ आज दुई सयभन्दा धेरै आरोहीहरु शिखरमा पुग्ने योजनासहित चौथो शिविरबाट माथि गएका निर्देशक आचार्यले बताइन् ।

आरोहण शुरु भएपछि ताउ–ते आँधीका कारण मौसम प्रतिकूल बन्दा एक हप्ताभन्दा धेरै समय आरोहण रोकिएको हो । अब झण्डै एक हप्ता मात्रै सगरमाथा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्ना साथ आरोहीहरु शिखरतर्फ गएका हुन् । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् । अनुमति लिएकै संख्याभन्दा केही बढी उनीहरुका सहयोगी समेत हुने भएकाले यो वर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा धेरैको तयारी छ ।

शेयर गरौ

ताजा अपडेट