काठमाडौं, ८ जेठ । नेकपा माओवादी केन्द्रले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने कदम २०७७ पुस ५ कै प्रतिगामी कदमको निरन्तरता भएको ठहर गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी स्थायी समिति बैठकपछि विज्ञप्ति जारी गर्दै १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुको विकल्प नहुँदा नहुँदै प्रधानमन्त्री र राष्ट्रपति मिलेर असंवैधानिक कदम चालेको बताएका छन् ।
‘यो स्थितिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्र विरोधी दृष्टिकोण, पद तथा सत्तास्वास्थ केन्द्रित चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधिनताको मुद्दालाई सौदावाजीको विषय बनाउने सत्ता स्वार्थ केन्द्रित आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
माओवादीले यसलाई अग्रगमन र प्रतिगमनबीच, विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादबीचको संघर्ष भएको बताएको छ । माओवादीले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने जनाएको छ ।