काठमाडौँ ८ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत रहेको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त घटनालाई सभामुखले विज्ञप्तिमा लेखेका छन्, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
राष्ट्रपति र प्रधानमन्त्रीको कदम प्रतिनिधिसभा विघटनको मुद्दामा यसअघि सर्वोच्च अदालतले दिएको फैसलाको विपरीत रहेको पनि सभामुखको भनाइ छ । ‘यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।