मकवानपुर ६ जेठ । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार कूल ३४७ जना मतदातामध्ये ३ सय ३७ जनाले मात्रै मतदान गरेका छन् भने बाँकी १० जना अनुपस्थित भएका हुन् ।
स्थानीय तहको कूल २३८ जना अध्यक्ष र उपाध्यक्ष मतदाता रहेकोमा २३२ जना मात्रै मतदान प्रक्रियामा सहभागि भएका हुन् । त्यस्तै १०९ जना प्रदेशसभा
सदस्यमध्ये १०५ जनाले मात्रै मतदान गरेका छन् ।
निर्वाचन अधिकृत श्रेष्ठका अनुसार ९६ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।
मतदानमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यान्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र दोलखाको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का खड्का अनुपस्थित भएका छन् । उनीहरु तीनै जना नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।
त्यस्तै दोलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी (एमाले), धादिङको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ (कांग्रेस), भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति (नेमकिपाका) पनि अनुपस्थित भएका हुन् ।
त्यसैगरीदोलखाकी प्रदेश सांसद् हिमाली गोले (नेकपा माओवादी केन्द्रबाट निर्वाचित) र विवेकशील साझा दलका विराजभक्त श्रेष्ठ, शोभा शाक्य र रमेश पौड्याल अनुपस्थित भएका हुन् ।
मतदानमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहको प्रमुख तथा उपप्रमुखको १८ मतभार गणना हुन्छ ।